सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, वैशाख २० गते । २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पका कारण ध्वस्त भएका घरमा १० वर्षमा ८८ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । त्यसबेला जिल्लाका ९० हजार ९०४ लाभग्राहीको घरमा क्षति पुगेको थियो ।
खानेपानी, शौचालय, बिजुलीलगायतका न्यूनतम सुविधासहितको ८८ हजार निजी आवास पुनर्निर्माण भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ साल अनुसार जिल्लामा ६८ हजार निजी घर थिए तर लाभग्राहीको सङ्ख्याका आधारमा जिल्लामा अझै पुनर्निर्माण सकिएको छैन । त्यसबेलाको जनगणना कायम घरधुरीभन्दा २० हजार बढी निजी आवास पुनर्निर्माण भएका छन् ।
तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्लामा भूकम्पबाट ९० हजार ९०४ जना लाभग्राही पहिचान गरेको थियो । त्यसबेला ९० प्रतिशत घर संरचना ध्वस्त भएको तथ्याङ्क निकालेको थियो । भूकम्पले जिल्लाभर तीन हजार ५७० जनाको ज्यान गएको थियो । भूकम्पले जिल्लालाई संरचनाविहीन बनाएको थियो । भूकम्पबाट बढी प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्ला गरी ३२ जिल्लामा सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित जिल्लामा परेको थियो ।
भूकम्पपछि पुनर्निर्माणमा ठडिएका घर संरचनाले जिल्लाको मुहार फेरिएको छ । पुनर्निर्माण सुरु गरिएको साढे चार वर्षमा जिल्लामा पुनर्निर्माण सम्पन्न भएको थियो । २०७४ सालमा स्थानीय सरकारमा जनप्रतिनिधि चुनिएर आएपछि पुनर्निर्माणले गति लिन थालेको थियो । २०७४ मै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा भूकम्पपीडितले पाउने तीन लाख किस्तालाई सहज र सरल बनाएपछि निजी आवास पुनर्निर्माणले गति लिएको थियो ।
त्यसबेला दैनिक डेढ लाख जनशक्तिले पुनर्निर्माणमा खटेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म चिटिक्क र सुन्दर निजी आवास पुनर्निर्माण भएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । स्थानीय सरकार चुनिनुअघि जिल्लामा १६३ वटा निजी आवास पुनर्निर्माण भएका थिए भने करिब १० हजार पीडितले निजी आवास पुनर्निर्माण थालेका थिए ।
दुई दर्जनभन्दा बढी सङ्घ, संस्थाले एकीकृत बस्ती पुनर्निर्माणमा प्राविधिकदेखि आर्थिक सहयोग गरेका थिए । भूकम्पपछि सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकामा भूकम्पप्रतिरोधी आवास पुनर्निर्माण भए पनि गाउँघरमा रोजगारी अभावले युवायुवती गाउँ छाडेर राजधानी बसेका छन् भने युवाशक्ति बिदेसिएको छ ।