• २० वैशाख २०८२, शनिबार

सरकारकाे नीति तथा कार्यक्रम

सफल कार्यान्वयन गर्न सके राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ : मुख्यसचिव अर्याल

blog

मुख्यसचिव एकनारायण अर्याल

काठमाडौं, वैशाख १९ गते । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताउनु भएको छ । 

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य सचिव अर्यालले यस्तो बताउनु भएको हो । उहाँले तीनै तहका सरकारले आगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले अघिल्ला वर्षहरूमा नीति तथा कार्यक्रमहरू अत्यधिक महत्वाकांक्षी बनाइँदा कार्यान्वयनमा समस्या आएको पनि बताउनु भयो । नीति तथा कार्यक्रम यथार्थपरक र तीन तहका कामको स्पष्ट आधारमा बनाइएको उहाँको भनाइ छ । उहाँले युवामुखी स्टार्टअप व्यवसाय, कृषिको आधुनिकीकरण, उत्पादन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो,‘‘स्थानीय तह, प्रदेश सरकार र संघीय मन्त्रालयहरुले आफ्नो बजेटमा नीति तथा कार्यक्रमअनुरुप जानुपर्‍यो । हामीले युवाहरुलाई सम्बोधन हुने गरेर स्टार्टअप बिजेनशका कुराहरु ल्याएका छौं । कृषिको आधुनिकीकरणको विषयहरु समावेश भएको छ । त्यसैगरी, उत्पादन, उत्पादत्व र रोजगारी सिर्जना गर्ने विषयहरु छन् । यहीअनुसार कार्यक्रम गर्न सकियो भने समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा हुन्छ र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विगतको नीतिमा कार्यक्रमहरु समावेश भएर आउने गर्दथ्यो । अलि महत्वाकाक्षीजस्तो हुन्थ्यो । त्यसले गर्दा जनतामा अपेक्षा पनि अलि बढी हुन्थ्यो । तर हामीले बजेटमा समावेश गर्नसक्ने खालको हुँदैन्थ्यो । अहिले हामीले तीन तहको कामअनुसार नीति बनाएको हुनाले यही आधारमा टेकेर नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने हुन्छ ।’’

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।