• २० वैशाख २०८२, शनिबार

‘उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गरिने’

blog

काठमाडौँ,  वैशाख १९ गते । सरकारले व्यावसायिक वातावरण सुधार गर्न  अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो । मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गर्ने र स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गर्ने सरकारको योजना छ । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “उद्योग विस्तार गरी आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गरिनेछ, सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगतर्फ आकर्षित गरिनेछ, नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिनेछ ।”

 प्रदेश तथा स्थानीय सरकार एवं निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय संवर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्यश्रृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय संवर्द्धन केन्द्र स्थापना र सञ्चालन गर्ने र इ। कमर्शमार्फत व्यापारको विकास गरिनेछ । बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने सरकारको योजना छ । 

“देशभित्र विभिन्न स्थानमा रहेका पेट्रोलियम, फलाम, तामा, म्याग्नेसियम जस्ता खानीजन्य स्रोतको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा जोड दिइने छ । धौवादी फलाम कम्पनीलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिनेछ । व्यावसायिक सम्भावना भएका रुग्ण उद्योगहरूलाई व्यवस्थापनका उपयुक्त विधि अपनाई पुनः सञ्चालन गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ । 

गुरुयोजना निर्माण र कार्यान्वयन गरिनेछ । रेल तथा जल परिवहनको पूर्वाधार विकास गरी ढुवानी लागत घटाउने, अत्यावश्यक वस्तु सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणस्तर नियन्त्रणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस