• १९ वैशाख २०८२, शुक्रबार

पुस्तकालयले ल्याएको परिवर्तन

blog

शशी थापामगर

कक्षाः ८, स्काइराइडर आवासीय मावि

चितवन

मलाई पुस्तकालय जानका लागि कुनै विशेष कारण चाहिँदैन । यो मेरो जीवनको दैनिकी हो । पुस्तकालयमा पुगेर म शान्त वातावरणमा बस्न सक्छु, पढ्न सक्छु र मेरो सोचाइलाई नयाँ दिशा दिन सक्छु । पुस्तकालयमा पुगेपछि मलाई थाहा भयो कि यहाँ किताब मात्र छैनन्, बरु मेरो दिमागलाई तेजिलो बनाउन र ध्यानकेन्द्रित गर्नका लागि सबै सुविधा उपलब्ध छन् ।

सुरुमा म घरमै पढ्ने कोसिस गर्थें तर कहिलेकाहीँ अनावश्यक आवाज र कोलाहलले गर्दा मेरो ध्यानकेन्द्रित हुन गाह्रो हुन्थ्यो । त्यसैले मैले पुस्तकालयमा गएर पढ्न सुरु गरेँ । मैले महसुस गरेँ त्यहाँको शान्त वातावरणले मेरो अध्ययनमा असाध्यै मद्दत पु¥याएको छ । पुस्तकालयमा रहेका हरिया डेस्क र हरियो रङको भित्ता अनि दराजमा सजाइएका पुस्तकले समेत मलाई अध्ययनमा प्रेरणा दिएको छ । पुस्तकालयमा भएका जति पुस्तक राख्न मेरो घरमा सम्भव छैन । नयाँ नयाँ पुस्तक पढ्न पाइन्छ । 

पुस्तकालयमा अन्य विद्यार्थी तथा शोधकर्ताको उपस्थितिले मलाई थप प्रेरित गर्ने गरेको छ । पुस्तकालयमा अध्ययन गर्दा मलाई थाहा भयो कि पुस्तक अध्ययन गर्ने भनेको पाठ्यपुस्तक पढ्ने मात्रै होइन रहेछ । पुस्तक त ज्ञान, विज्ञान, कला संस्कृति, धर्म, इतिहासलगायत विभिन्न विधा र विषयसँग सम्बन्धित हुँदा रहेछन् । विद्यालय र कक्षाकोठामा पढाइने किताब त पहाडमा खोलिएका साना गोरेटो जस्तो मात्रै हुने रहेछन् । यही गोरेटोलाई फराकिलो राजमार्ग बनाउन त आफैँले अध्ययन गर्नुपर्ने रहेछ । यसका लागि नियमित पुस्तकालय जानु पर्दो रहेछ । जब म पुस्तकालय जान थालेँ त्यसपछि मेरो सोच विस्तृत बन्न थाल्यो र गोरेटो राजमार्ग बन्न थाले ।  

पुस्तकालयको नियमित प्रयोगले मलाई समय व्यवस्थापनमा पनि मद्दत पु¥याएको छ । म पुस्तकालय जान थालेपछि पढाइ र अनुशासनमा बढी ध्यानकेन्द्रित गर्ने गरेको अनुभव पनि गर्ने गरेको छु । अध्ययन गर्दा मैले छुटेका ठाउँलाई सुधार गर्न सक्ने मौका पाएको छु । मेरो नतिजामा पनि धेरै सुधार आएको छ र यसले मेरो आत्मविश्वासलाई अझ बढी मजबुत बनाएको छ । 

पुस्तकालयका कारण मेरो जीवनमा धेरै सकारात्मक परिवर्तन आएको छ । यो एउटा स्थान हो जहाँ म केवल पढ्न होइन, आफैँलाई सुधार्न र नयाँ ज्ञानको खोजी गर्न जाने गरेको छु । अब पुस्तकालय मेरो जीवनको अनिवार्य अंश बनिसकेको छ ।   

   मुना