• १९ वैशाख २०८२, शुक्रबार

पुस्तकालयको अनुभव

blog

विभिन्न किसिमका पुस्तकको सङ्ग्रह भएको ठाउँलाई पुस्तकालय भनिन्छ । यसलाई ज्ञानको भण्डार भनेर पनि चिनिन्छ । यहाँ हरेक किसिमका किताब पाइन्छन् । अचेल हाम्रो देशका प्रायः सबै विद्यालयमा पुस्तकालय छ । यसले विद्यार्थीमा ज्ञानको भण्डार वृद्धि गर्नुका साथै आफूलाई मन पर्ने किताब पढ्न, नजानेका कुरा खोज्न, खाली समयको सदुपयोग गर्न पनि सहयोग गर्छ । हाम्रो विद्यालयमा पनि पुस्तकालयको व्यवस्था रहेको छ र त्यसको नाम माछापुच्छ्रे लाइब्रेरी राखिएको छ ।


पुस्तकालय नियम

हाम्रो विद्यालय कक्षा १२ सम्म सञ्चालित छ । साना कक्षामा पनि पुस्तकालयको व्यवस्था छ भने कक्षा ४ देखि १२ सम्मका विद्यार्थी हप्ताको एक दिन पालैपालो पुस्तकालय जान्छौँ । कुनै दिन कुनै शिक्षक विद्यालयमा अनुपस्थित हुनुभयो भने हामी त्यो समय पनि पुस्तकालयमा बिताउँछौँ । यहाँ विद्यार्थीको तह र स्तर अनुरूपका पुस्तकलाई छुट्टाछुट्टै राखिएको छ । बालकथा, बालकविता, सामान्य ज्ञानका पुस्तक, सम्बन्धित कक्षा र विषयका सहयोगी पुस्तक, समसामयिक विषयका पुस्तक, प्रेरणादायी व्यक्तित्वले लेखेका पुस्तक तथा मदन पुरस्कार प्राप्त पुस्तकसमेत रहेका छन् । 

पुस्तकालयमा बिताउने समय

पुस्तकालयको नियम अनुसार एउटा कक्षाको पालो हप्तामा एक दिन मात्र आउने भए पनि हामी बिहान १० बजेभन्दा अगाडि, छोटो ब्रेक, खाजा ब्रेक र अपराह्न ४ बजेपछिको समयमा पनि साथी समूह बनाएर पुस्तकालयमा जाने गर्छौं । यसरी समयको सदुपयोग गर्ने गर्छौं । हामीले कक्षाकोठामा दिनदिनै एउटै किताब पढ्दा अल्छी लागेको महसुस गर्छौं तर पुस्तकालयमा गएपछि त्यो अल्छीपन बिर्सन्छौँ र थप ज्ञान पनि प्राप्त गर्छौं । यसो गर्दा हामीले समय बितेको पत्तै पाउँदैनौँ ।

 

पुस्तकालय जानुको कारण

मलाई बालकथा र बालकविता अनि सामान्य ज्ञानका किताब पढ्न मन लाग्छ । हाम्रो पुस्तकालयमा त्यस्ता सबैखाले पुस्तकको व्यवस्था भएकाले म पुस्तकालय नियमित जाने गर्छु । मलाई हाम्रो नेपालको इतिहासमा भएका रोचक घटना खोज्न र पढ्न पनि मन पर्छ । त्यसैले म पुस्तकालयमा गएर त्यस्ता किताब खोजेर पढ्छु । विद्यार्थी सधैँ कुनै न कुनै विषयमा जान्नका लागि आतुर रहन्छ । शिक्षक सधैँ विद्यार्थीसँगै नहुने भएकाले पनि आफ्नो जिज्ञासा मेटाउका लागि पुस्तकालयले सहयोग गरेको हुन्छ । पुस्तकालय जाने बानीले नयाँ नयाँ कुराको जानकारी हुने हुनाले मलाई पुस्तकालय जान एकदमै मन पर्छ । म जस्ता सबै विद्यार्थीले आफ्नो फुर्सदको समयमा पुस्तकालय गएर पढ्ने बानीको विकास गर्नु पर्छ । 

   मुना