• १९ वैशाख २०८२, शुक्रबार

सौका समुदाय लाग्यो छाङरुतर्फ

blog

कृष्णबहादुर धामी

दार्चुला, वैशाख १९ गते । दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदायका मानिसले आफ्नो थातथलो सार्न सुरु गरेका छन् । गर्मीयाम सुरु भएसँगै उनीहरू आफ्नो थातथलो सार्न सुरु गरेका हुन् । 

छिमेकी मुलुक भारत र चीनसँग सिमाना जोडिएको दार्चुलाको उत्तरमा पर्ने ब्यास गाउँपालिका–१, टिङ्कर र छाङरुगाउँमा परापूर्वकालदेखि बस्दै आएका सौका समुदायका मानिस छ महिना सदरमुकाम खलङ्गा र छ महिना आफ्नो थातथलो टिङ्कर र छाङरुमा बसोबास गर्ने गर्छन् । 

टिङ्कर र छाङरुगाउँमा हिउँदमा बाक्लो हिमपात भएपछि चिसो छल्न गत मङ्सिरको पहिलो साता सौका समुदायको कुञ्चा (बसाइँसराइ) सदरमुकाम खलङ्गा झरेको थियो । गर्मीयाम सुरु भएर हिउँ पग्लिन सुरु भएसँगै सो समुदायका मानिस बालबच्चा, वस्तुभाउसहित कुञ्चा सर्न थालेका छन् । 

सदरमुकाम खलङ्गाबाट २८ कोष टाढा रहेको टिङ्कर र छाङ्रुका मानिस भारतको बाटो हुँदै पैदल कुञ्चा सर्ने गर्छन् । नेपालबाट टिङ्कर र छाङ्रुगाउँसम्म पुग्ने बाटो छैन । नेपालतिरबाट बाटो नहुँदा सौका समुदायका मानिस विगतदेखि नै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । भारतीय बाटो प्रयोग गर्दा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुपर्ने, बाटो प्रयोग अनुमति लिनुपर्नेलगायतका समस्या रहेको टिङ्करका स्थानीय दानसिंह टिङ्करीले बताउनुभयो । भारतको बाटोबाट कुञ्चा सार्दा गाईवस्तुको क्वारेन्टाइन समेत चेक गर्नुपर्ने अर्को बाध्यता रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “आफ्नै भूमिमा जान भारतको अनुमति लिनु पर्छ, सरकारले नेपालबाटै जाने गरेर बाटो बनाइदिनुपर्ने माग राख्नुभयो ।” 

राष्ट्रियता बलियो बनाउन देश आफैँ सक्षम हुनुपर्ने उहाँले बताउनुभयो । सरकारले गत माघ १४ गते ब्यास घोरेटोबाटो निर्माणका लागि पाँच करोड पचास लाख रुपियाँ विनियोजन गरेको छ । सो बजेट कार्यान्वयनका लागि प्रक्रिया सुरु भएको छ । बर्सात्को समय सुरु हुन केही समय मात्रै बाँकी रहेका कारण बजेट कार्यान्वयन हुने र बाटो बन्नेमा भने ब्यासवासीले आशङ्का गरेका छन् ।  

खलङ्गाबाट पाँच दिन हिँडेर उहाँ छाङरुको कुञ्चा पुग्नुभयो । टिङ्कर गाउँका मानिस वैशाख २१ गते आइतबारका दिन खलङ्गाबाट कुञ्चा सर्न तयारी अवस्थामा रहेको बताइएको छ । टिङ्कर पुग्न खलङ्गाबाट छ दिनको पैदल यात्रा गर्नु पर्छ ।