बिजुवार समाचारदाता
प्युठान, वैशाख १९ गते । उध्रिएको स्वेटर, थकित अनुहार र खाली खुट्टा । स्वर्गद्वारी–२, खालकी नौ वर्षीय अनुष्का परियार ढकियाभरि काफल बोकेर मन्दिर क्षेत्रमै बस्नुहुन्छ । आँखामा थकान छैन, छ त पढ्ने गहिरो सपना ।
गाउँकै विद्यालयमा कक्षा ४ मा अध्ययनरत अनुष्का विद्यालय बन्द हुँदा पनि फुर्सदमा बस्नुभएको छैन । शिक्षक आन्दोलनले पारेको बिदालाई उहाँले आम्दानीको अवसरमा बदल्नुभएको छ । बिहान जङ्गल पस्नुहुन्छ, दिउँसो काफल बेच्न स्वर्गद्वारी आउनुहुन्छ, साँझ घर फर्कनुहुन्छ ।
अनुष्काले भन्नुभयो, “काफल बेचेको पैसा आमालाई दिन्छु अनि कापीकलम किन्छु ।” उहाँ दैनिक झन्डै १० माना काफल बिक्री गर्नुहुन्छ । प्रतिमाना ६० रुपियाँका दरले दिनमा छ सय रुपियाँभन्दा बढी आम्दानी हुन्छ । सो आम्दानी शैक्षिक सामग्री र पोसाक खरिदमा खर्च हुने अनुष्काले बताउनुभयो । “बिदाको समय सदुपयोग गरेर काफल बेच्न आएकी हुँ,” उहाँले थप्नुभयो । अनुष्का कहिले आफूभन्दा ठुला साथीसँग काफल बेच्न जानुहुन्छ, कहिले एक्लै पनि । “एक्लै भए पनि डर लाग्दैन, बिक्री गर्न जान्छु,” उहाँको आत्मविश्वास छ ।
त्यस्तै स्वर्गद्वारी नगरपालिका–२, बाइनेटाकी १० वर्षीय निशा सुनार पनि कक्षा ६ मा अध्ययनसँगै काफल बिक्रीमा लाग्नुभएको छ । बाल माध्यमिक विद्यालय खालमा अध्ययनरत निशाले शिक्षक आन्दोलनका कारण विद्यालय बन्द भएपछि फुर्सद सदुपयोग गर्न काफल बेच्न थालेको बताउनुभयो ।
“स्वर्गद्वारी मन्दिरमा पर्यटक धेरै आउँछन्, त्यसैले यहीँ बेच्न आएकी हुँ,” उहाँले भन्नुभयो । उहाँले पनि बेचेको पैसाले शैक्षिक सामग्री किन्ने योजना बनाउनुभएको छ । दर्शनका लागि स्वर्गद्वारी पुग्नुभएका जुम्रीकाँढा, प्युठानका टेकराज केसीका अनुसार अहिले स्वर्गद्वारीमा दैनिक १२–१४ जना महिला तथा बालबालिका काफल बेच्न बस्ने गर्नुहुन्छ ।
वैशाखदेखि जेठसम्म खाल क्षेत्रमा काफल टिप्ने मुख्य सिजन हो । बिहानै डाली र ढकिया बोकेर स्थानीय जङ्गल पस्ने गर्छन् । प्युठान र रोल्पाका विभिन्न गाउँबाट अनुष्का जस्तै १५–२० जना महिला तथा बालबालिका काफल बिक्रीका लागि स्वर्गद्वारी आउने गरेका छन् । स्थानीय गनबहादुर विकले यहाँ काफल बेच्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको जानकारी दिनुभयो । तीर्थयात्री र पर्यटकका लागि स्वर्गद्वारीको दर्शनसँगै स्वादिलो काफल छुट्टै आकर्षण बनेको छ । स्थानीय व्यवसायीका अनुसार यहाँ दैनिक सयौँ माना काफल बिक्री हुने गरेको छ ।