• १५ असार २०८१, शनिबार

हत्या आशङ्कामा पाँच जना सीआइबीको नियन्त्रणमा

blog

शिवराज ढुङ्गाना 

अछाम, जेठ २५ गते । हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा रहेको सीआइबीको टोलीले मङ्गलबार बेलुकी पाँच जनालाई नियन्त्रणमा लिएर सदरमुकाम मङ्गलसेन ल्याइएको बताइएको छ । नियन्त्रणमा लिइएका पाँचै जनाको विवरण भने सार्वजनिक गरिएको छैन ।  

“सीआइबीले सोधपुछको लागि ल्याएको भन्ने मैले सुनेको छु, मेरो भेट पनि छैन, सोधेको पनि  छैन । अनुसन्धानमा हामीले बोल्ने कुरा पनि भएन ।” अछामका निमित्त प्रहरी प्रमुख प्रनि कैलाशसिंह विष्टले भन्नुभयो । नियन्त्रणमा लिइएका व्यक्तिबाट सीआइबी आफैले अनुसन्धान गर्ने प्रनि विष्टको भनाइ छ ।

किटानी जाहेरी लिएर प्रहरीले दोषिलाई कानुनी कारवाहीको सुनिश्चितता नभएसम्म पोष्टमार्टम गर्न नदिने पीडित पक्षको अडानका कारण शनिबार फेला परेको शव हालसम्म घटनास्थलमै रहेको छ । विनोद बेपत्ता भएको पाँच दिनपछि गएको शनिबार छिमेकी वडाको सल्लाघारीको खाेँचमा मृत अवस्थामा फेला परेका थिए । प्रहरी र स्थानीयले चार दिनदेखि घटनास्थलमै शव कुरिरहेका छन् । शव मुचुल्का भए पनि पोष्टमार्टमको लागि पीडित पक्षसँग कुराको तयारी भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । 

तालिमप्राप्त कुकुरसहित नेपाल प्रहरीको सीआइबी टोलीले विनायक क्षेत्रमा रहेर आइतबारबाट घटनाको अनुसन्धान गरिरहेको छ । सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीका एसएसपी जनकराज पाण्डेको टोली अछाम आइसकेको छ । “प्रहरीले म्यान्नुअली र टेक्नोलोजी दुवैबाट कडा अनुसन्धान गरिरहेको छ ।” प्रनि विष्टले भन्नुभयो ।