• ४ वैशाख २०८३, शुक्रबार

बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

blog

केशवराज भट्ट

वासुलिङ बैतडी, वैशाख ४ गते ।बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार श्रीभावरबाट पुर्चाैडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल दिउँसो करिब साढे १ बजे ठोक्किएका हुन ।

दुर्घटनामा गम्भीर घाइते भएका सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र देउलेकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, अर्काे मोटरसाइकल चालक पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतसहित चार जना घाइते भएका छन । घाइतेमध्ये कठायत र पछाडि सवार हिक्मत कुँवरलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

अन्य घाइतेमा सिगास गाउँपालिका–९ का ३४ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका २६ वर्षीय केशवबहादुर चन्द रहेका छन । उहाँहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।