• १६ वैशाख २०८२, मङ्गलबार

पठन संस्कृतिको जग पुस्तकालय

blog

पुस्तकालय दुई शब्द मिलेर बनेको छ– पुस्तक र आलय । पुस्तक भनेको किताब र आलय भनेको घर हो । त्यसैले पुस्तकालय किताब घर हो । यसको अर्थ पुस्तकालय भनेको पुस्तक थुपार्ने घर मात्र होइन । पुस्तकालयमा पढ्ने सुविधाका लागि विभिन्न विषयका पुस्तक राखिएका हुन्छन् ।   

पुस्तकालयको इतिहास पाँच हजार वर्षभन्दा पुरानो छ । मेसोपोटामिया, हालको सिरिया, प्राचीन ग्रिस र रोमलगायतका स्थानबाट पुस्तकालय सुरु भएको पाइन्छ । नेपालमा भने पुस्तक पढ्ने दलान (पाल्पा), पशुपतिप्रताप पुस्तकालय (तौलिहवा), शारदा पुस्तकालय (पाटन), प्रदीप्त पुस्तकालय (काठामाडौँ), आदर्श पुस्तकालय (विराटनगर), धवल पुस्तकालय (पाल्पा), महावीर पुस्तकालय (बुटवल), सार्वजनिक विद्या भवन पुस्तकालय (धरान) आदि पुराना पुस्तकालय हुन् । 


पुस्तकालयको आवश्यकता 

पुस्तकालयलाई खुला विश्वविद्यालयका रूपमा पनि लिने गरिन्छ । पुस्तकालय सबै उमेरका मानिसका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अझ बालबालिकाका लागि यसको विशेष महत्व छ । विद्यालयमा पढाइ हुने पाठ्यपुस्तक मात्र बालविकासका लागि पर्याप्त हुँदैनन् । जीवन र जगत्बारेका ज्ञान भएका अनेक विधाका किताब पुस्तकालयमा सङ्ग्रह गरिएको हुन्छ । 

पुस्तकालयले बालबालिकाको सुनाइ, बोलाइ, पढाइ, लेखाइलगायतका भाषिक र साक्षरता सिप विकासमा सघाउँछ । पुस्तकालयका पुस्तक र श्रव्यदृश्य सामग्रीबाट हाम्रो शब्दभण्डार वृद्धि हुन्छ । यसबाट अभिव्यक्ति कलाको विकास राम्रो बन्छ । यसबाट कल्पनाशीलता र सिर्जना कौशलको विकास हुन्छ । 

पुस्तक पढ्दा आनन्द प्राप्त हुन्छ । सानै उमेरबाट पढ्ने बानी बसाल्न सकेमा जीवनभरि हामी आनन्दित हुन सक्छौँ । यसले आफ्नो रुचिका विषयमा ज्ञान बढाउन सहज हुन्छ । आफ्नै ठाउँको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक विविधता थाहा पाउन पनि पुस्तकालय सहयोगी हुन्छ । यसले पढ्न तथा नयाँ ज्ञानको खोजीमा मद्दत पुर्‍याउँछ । पुस्तकालयको प्रयोगले शिक्षाको गुणस्तरमा सुधार ल्याउँछ । त्यसैले राम्रा विद्यालयमा पुस्तकालयको व्यवस्था गरिएका हुन्छ । विद्यार्थीले पनि पुस्तकालय प्रयोग गरिरहेका हुन्छन् । 

पुस्तकालय विज्ञानका भारतीय विद्वान् डा. एसआर रङ्गनाथनले झन्डै एक सय वर्षअगाडि पुस्तकालय विज्ञानका पाँच नियम औँल्याउनुभएको थियो । पुस्तक प्रयोगका लागि हुन्, प्रत्येक पाठकको आआफ्नै पुस्तक हुन्छ, प्रत्येक पुस्तकको आआफ्नो पाठक हुन्छलगायतका नियम उहाँले औँल्याउनुभएको हो ।

 पुस्तकालय विभिन्न किसिमका हुन्छन् । व्यक्तिगत पुस्तकालय, सार्वजनिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय, कार्यालय पुस्तकालय, विज्ञान पुस्तकालय, अनलाइन पुस्तकालय, विश्वविद्यालय पुस्तकालय, क्याम्पस पुस्तकालय, विशेष पुस्तकालय आदि । यीमध्ये एक हो विद्यालय पुस्तकालय । विद्यालय परिसरभित्र स्थापित, विद्यार्थी, शिक्षक, कर्मचारी र समुदायका लागि सेवा प्रदान गर्ने पुस्तकालय विद्यालय पुस्तकालय हो । 

विद्यालय पुस्तकालयले पाठ्यक्रमका उद्देश्य पूरा गर्न पनि सघाउ पुर्‍याउँछ । यसबाट विद्यार्थीमा भाषिक, साक्षरता र विषयगत विशेष सिप हासिल गर्न सहज हुन्छ । रुम टु रिड नामक संस्थाले नेपालका करिब पाँच हजार विद्यालयमा विद्यालय पुस्तकालय स्थापना गरी पढाइ क्रियाकलापसमेत सञ्चालन गर्दै आएको छ ।


बाल पुस्तकालय

बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको पुस्तकालय बाल पुस्तकालय हो । यस्ता पुस्तकालयमा बालबालिकाका लागि उपयोगी पुस्तक राखिएको हुन्छ । उमेर, रुचि र सुहाउँदा विषयवस्तुका सरल र चित्रमय पुस्तक त्यस्ता पुस्तकालयमा पढ्न पाइन्छ । श्रव्यदृश्य, खेल र सिकाइलाई सघाउने मनोरञ्जनात्मक सामग्रीको पनि बाल पुस्तकालयमा प्रयोग गरिन्छ । 

कतिपय ठुला पुस्तकालयमा पनि बालबालिकाका लागि बेग्लै बाल कक्षा या बाल शाखा राखिएको हुन्छ । त्यहाँ कुर्सी, टेबुलदेखि सबै सामग्री बालबालिकाका लागि सुहाउँदो हिसाबले विचार गरेर राखिएको हुन्छ ।  

नेपालमा बाल पुस्तकालयको सङ्ख्या अति कम छ । केही बाल पुस्तकालय र पुस्तकालयका बाल शाखाबारे सङ्क्षिप्त जानकारी प्रस्तुत गरिन्छ–


नेपाल–जापान बाल पुस्तकालय

यस बाल पुस्तकालयको स्थापना सन् २००१ मा भएको हो । काठमाडौँको लैनचौरमा यसको आफ्नै भवन छ । यहाँ करिब १० हजार बाल पुस्तक रहेका छन् । पुस्तकका अतिरिक्त यहाँ खेलौना, श्रव्यदृश्य सामग्री, बाल फिल्म, सन्दर्भ सेवा पनि उपलब्ध छन् । यहाँ कथावाचन र ओरीगामी क्रियाकलाप पनि गरिन्छ । जापानको जोहो रोरेन संस्था र काठमाडौँ महानगरपालिकाबाट स्थापित यस पुस्तकालयको उद्घाटन तत्कालीन युवराज्ञी श्रुति शाहले गर्नुभएको थियो । निम्न वर्गका बालबालिकालाई पुस्तकालय सेवा प्रदान गर्नु र पढ्नु रमाइलो हुन्छ भन्ने प्रेरणा दिने यस पुस्तकालय स्थापनाको उद्देश्य रहेको छ । 


काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 

बाल शाखा 

काठमाडौँको भृकुटीमण्डपमा २०६२ सालमा स्थापित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा बालबालिकालाई लक्षित गरी बाल शाखा स्थापना गरिएको छ । यसमा बालबालिकाले सदस्य बन्न पनि पाउँछन् । सदस्य बनेपछि हरेक १५ दिनमा दुई वटा किताब लगेर पढ्न सकिन्छ । यहाँ पुस्तकालयमै बसेर पढ्ने व्यवस्था पनि मिलाइएको छ । पुस्तकालय सोमबारदेखि शनिबारसम्म खुला हुन्छ भने आइतबार बन्द रहन्छ । 

नेपाल राष्ट्रिय पुस्तकालय, बाल पुस्तकालय शाखा २०१३ सालमा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालयले २०५२ सालको बालदिवसको सन्दर्भ पारेर बाल पुस्तकालय शाखा स्थापना गरेको हो । नेपालमा बालबालिकालाई सरकारीस्तरबाट पुस्तकालय सेवा उपलब्ध गराउने यो नै पहिलो पुस्तकालय हो । ललितपुरको हरिहरभवनमा रहेको यो पुस्तकालय २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि लामो समयसम्म अलपत्र रह्यो । सरकारी कार्यालयबिचमा रहेकाले बालबालिकाको सहज पहुँचमा भने यो पुस्तकालय थिएन । केही समययता यसलाई सानो ठिमीमा सारिए पनि यो व्यवस्थित रूपमा सञ्चालनमा आएको छैन । बालबालिकालाई बसेर पढ्ने स्थान बनाइए पनि यहाँ पनि सहज पहुँच भने छैन । 

पुस्तकप्रेमी केशरशमशेरको निजी पुस्तकालयका रूपमा विकसित यो पुस्तकालय २०२६ सालमा उनको इच्छा अनुसार सरकारलाई हस्तान्तरण गरिएको हो । यसमा करिब चार हजार बाल पुस्तक रहेका छन् । बालबालिकाले यहाँ निःशुल्क पुस्तक पढ्न पाउँछन् । यो पुस्तकालय पनि भूकम्पपछि बन्द भएकाले बालबालिकाको प्रयोगका लागि सुचारु हुन सकेको छैन । 


अन्य बाल पुस्तकालय तथा बाल शाखा 

काठमाडौँको लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयले पनि बाल शाखा स्थापना गरेको छ । यदाकदा बालबालिका आउने गरे पनि यसमा पनि बालबालिकालाई सहज प्रवेशको वातावरण भने छैन । ललितपुरस्थित रातो बङ्गला स्कुलले पाटनढोकामा स्थानीय बालबालिकालाई लक्षित गरी पिङ्गल बाल पुस्तकालय सञ्चालनमा ल्याएको थियो । २०५४ सालमा सुरु यो पुस्तकालय पनि भूकम्पपछि अवरुद्ध छ । 

काठमाडौँबाहिर पाल्पाको तानसेनस्थित धबल पुस्तकालयमा पनि बाल शाखा रहेको छ । यसै गरी म्याग्दीको पुलाचौरमा बालज्ञान भण्डार पुस्तकालय छ । यसको व्यवस्थापन र सञ्चालन बालबालिका आफैँले गर्दै आएका छन् । 

यसका साथै रुम टु रिडको अनलाइन पुस्तकालय (www.literacycloud.org), एसिया फाउन्डेसनको (www.letsreadasia.org), साझा शिक्षा इपाटीको (www.olenapal.org) मार्फत पनि प्रशस्त पुस्तक पढ्न सकिन्छ । 

पुस्तकालय बालबालिकाका लागि अति आवश्यक हुँदाहुँदै पनि हामीकहाँ यसको सङ्ख्या अति कम छ । भएका पुस्तकालय पनि बालबालिकाको सहज पहुँचमा छैनन् । हरेक विद्यालयमा पुस्तकालय स्थापना तथा सञ्चालन गरिनु आवश्यक छ । यसबाट असल पुस्तक बालबालिकाको पहुँच बढाउन सजिलो हुन्छ । पुस्तकालयका अर्थात् कोर्सभन्दा बाहिरका विविध पुस्तक पढ्नाले हाम्रो पढाइ, भाषा, ज्ञान, सूचना र अभिव्यक्तिमा उन्नति हुन्छ । त्यसैले मिलेसम्म पुस्तकालय जाने, पढ्ने गरौँ । विद्यालयको पुस्तकालयमा नियमित प्रवेश गरी पुस्तक पढौँ । विद्यालयमा पुस्तकालय छैन भने प्रधानाध्यापकलाई भनेर व्यवस्था गर्न अनुरोध गरौँ । भौतिक पुस्तकालय नभए विभिन्न अनलाइन पुस्तकालयबाट पनि पुस्तक अध्ययन गर्न सकिन्छ । 

 मुना