• ९ जेठ २०८१, बुधबार

पुनः चुनाव हुने भएपछि खुसीसँगै चिन्ता

blog

शेरबहादुर सार्की

बाजुरा, जेठ २५ गते  । अर्कैले मतदान गरिदिने गरेको बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः चुनाव हुने भएपछि यहाँका अधिकांश वडाका स्थानीयमा हौसला सँगसँगै उम्मेदवारमा चिन्ता थपिएको छ ।मतदाता नामावली सूचीमा भए पनि कहिल्यै मतदान गर्न नपाएका मतदाताले फेरि चुनाव हुँदा स्वविवेकपूर्ण तरिकाले मतदान गर्न पाउने भएपछि उनीहरूमा हौसला थपिएको छ तर कडा सुरक्षाका साथ मतदाताले स्वविवेक प्रयोग गरी मतदान गर्न पाउने भएपछि आफू हार्छु कि भन्ने चिन्ता केही उम्मेदवारलाई छ ।

बूढीगङ्गा नगरपालिकाका केही वडाका नागरिकले कहिल्यै पनि आफूले चाहेका प्रतिनिधिलाई छान्न मत प्रयोग गर्न पाएका छैनन् । मतदाता मतदान गर्न जाने गरेको भए पनि हातबाट मतदाता परिचयपत्र खोसेर अरूले नै मतदान गरिदिने गरेको बूढीगङ्गा नगरपालिका वडा नम्बर ३ का स्थानीय हर्क नेपालीले बताउनुभयो ।

वैशाख ३० गते शुक्रबार भएको स्थानीय निर्वाचनमा बाजुराको बूढीगङ्गा नगरपालिकाका केही वडामा धाँधली भएको थियो । त्यहाँका राजनीतिक दलका कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा एकलौटी रूपमा मतदान गरेका थिए ।

बूढीगङ्गा नगरपालिका २, ३, ५, ९ मा एमाले, ४ र ७ मा कांग्रेसका कार्यकर्ताले एकलौटी मतदान गरेको स्थानीयले बताएका छन् । यहाँको मतगणना सम्बन्धमा विवाद थियो ।गत बिहीबार मात्र निर्वाचन आयोगले गरेको निर्णयअनुसार बूढीगङ्गा नगरपालिकाका १० वटै वडाका निर्वाचन केन्द्रमा फेरि मतदान गर्ने निर्णय गरेपछि त्यहाँका स्थानीयले मतदान गर्न पाउने आस गरेका हुन् ।

बूढीगङ्गा नगरपालिका १, ८, ६ र ७ का मतदाताले राम्रोसँग मतदान गर्न पाए पनि वडा नं २, ३, ४, ५, ९, १० का मतदाताले मतदान गर्ने समयमा धाँधली भएपछि उनीहरू आफ्नो मत प्रयोग नगरी घरमा फिर्ता भएका थिए ।

सो नगरपालिकामा यसअघि वैशाख ३० गते भएको निर्वाचन निष्पक्ष हुन नसकेकाले मतदान रद्द गरेर पुनः मतदान गर्ने आयोगले निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन गरेको छ । आयोगले सो नगरपालिकाभित्र यथाशीघ्र मतदान गर्ने मिति र समय तोकेर मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन गरेको हो ।

वैशाख ३० गतेको निर्वाचनमा बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टले निर्वाचनमा गम्भीर लापरबाही गरेर निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ । 

उहाँहरूलाई तीन दिनभित्र हटाई सो ठाउँमा जिम्मेवार कर्मचारीलाई खटाउन र पदाधिकारीलाई तीन महिनाभित्र विभागीय कारबाही गरी आयोगलाई जानकारी गराउन आयोगले सरकारलाई भनेको छ ।

बूढीगङ्गा नगरपालिकामा पुनः चुनाव गर्ने भन्ने आयोगले निर्णय गरेपछि त्यहाँका निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक बोलाएर चाँडोभन्दा चाँडो निर्वाचन मिति तय गर्ने निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।