• १५ वैशाख २०८२, सोमबार

तीन दिन हिरासतमा राख्न अनुमति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १५ गते । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद राईलाई प्रहरीले शनिबार साँझ कपन क्षेत्रबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहनुभएकी राईलाई आइतबार अदालत उपस्थित गराइएको थियो । उहाँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो ।

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा  उहाँलाई मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा राईमाथि काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । सो सहकारीको सञ्चालक समितिको तत्कालीन सहसचिवको जिम्मेवारीमा रहनुभएकी राईसहित ४० जना जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राईलगायत आरोपितमाथि सहकारीका ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपियाँ हिनामिना गरेको आरोप छ ।