• १५ वैशाख २०८२, सोमबार

रियललाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रे च्याम्पियन

blog

उपाधि विजेता बार्सिलोनाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, वैशाख १४ गते । बलियो प्रतिस्पर्धी रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

सेभियामा शनिबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले रियललाई ३–२ गोलले हरायो । एल क्लासीको भिडन्तमा निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

त्यसपछि थप ३० मिनेटमा बार्सिलोनाले निर्णायक गोल गर्दै रियललाई स्तब्ध बनाएको हो । बार्सिलोनालाई जित दिलाउन पेड्रीले २८औँ फेरान टोरेसले ८४औँ र जुलेस कुन्डेले एक सय १६औँ मिनेटमा गोल गर्नुभयो ।

रियालका लागि किलियन एमबाप्पेले ७०औँ र अरेलियन चुआमेनीले ७७औँ मिनेटमा गोल गर्नुभयो । थप समयमा रियल चुकेको थियो । बार्सिलोनाको यो ३२औँ कोपा डेल रे उपाधि हो । एजेन्सी