• १४ वैशाख २०८२, आइतबार

गोरु पाल्ने कृषकलाई अनुदान

blog

तम्घास समाचारदाता

तम्घास, वैशाख १४ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार गोरु पाल्ने कृषकलाई अनुदान दिन लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुदान पाउनका लागि दुई वर्षदेखि गोरु पालेको हुनुपर्ने छ भने अनुदान लिएपछि गोरु बेचेमा अनुदान फिर्ता गर्नुपर्ने सर्त राखिएको छ ।

पाण्डेले गाउँपालिकाभित्रको भिरालो जग्गामा गोरुले जोतेर खेतीपाती गर्ने र प्राङ्गारिक मलसमेत उत्पादन गर्ने उद्देश्यले अनुदान दिन लागिएको बताउनुभयो । उहाँले उक्त कार्यक्रमका लागि पाँच लाख रुपियाँ बजेटको व्यवस्था गरिएकाले प्राप्त निवेदनको आधारमा अनुदान दिने बताउनुभयो । गोरुपालक कृषकका लागि १५ दिनभित्र निवेदन दिन पालिकाले एक सूचनासमेत प्रकाशन गरेको छ । 

यस्तै चन्द्रकोट गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई वार्षिक तीन हजार प्रोत्साहन भत्ता प्रदान गरेको छ । सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले ग्रामीणस्तरमा गोरु पाल्न छाडिएकाले गोरुपालक कृषकलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको जानकारी दिनुभयो । पछिल्लो समयमा कृषकले गोरु पाल्न छोडेकाले उनीहरूलाई प्रोत्साहन गर्न पालिकाले यस्तो नीति अपनाएको छ ।ज्ञवालीले पालिकाभित्रका आठ वटै वडामा २५८ हलगोरु पालिएको देखिएको उहाँहरूलाई वडाबाटै प्रोत्साहन भत्ता उपलब्ध गराइएको बताउनुभयो । प्रोत्साहन भत्ताले गोरु पाल्ने कृषकलाई थप ऊर्जा मिल्ने र पछिल्लो समयमा रासायनिक मलको बढ्दो प्रयोगलाई कम गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ । यसका साथै गोरु पाल्ने कृषकको सङ्ख्या बढ्दै गएमा बाँझो जग्गा पनि नरहने र खेतीयोग्य जमिनमा खेती हुने पालिकाले जनाएको छ । 

हलगोरु पाल्ने कृषकलाई सम्मान

धुर्कोट गाउँपालिका–४ ले हलगोरु पाल्ने ४७ कृषकलाई पनि सम्मान गरेको छ । वडाभित्र हलगोरु पाल्ने ४७ कृषकलाई वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत एक लाखको बजेटबाट कृषकलाई सम्मान गरिएको वीरबहादुर जोगी कुँवरले जानकारी दिनुभयो । पछिल्लो समयमा गोरु पाल्ने कृषक लोप हुँदै गएकाले उनीहरूलाई गोरु पाल्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको उहाँको भनाइ छ । उहाँले पहिलेदेखि नै गोरुले खेतबारी जोत्दै आएकाले यसलाई जोगाइराख्नु पनि आफूहरूको दायित्व भएको बताउनुभयो । उहाँले यसका साथै खेतबारीमा रासायनिक मलको बढी प्रयोग हुने भएकाले त्यसको न्यूनीकरणका लागि पनि यसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।