हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १३ गते । मुस्ताङका तीन स्थानीय तहमा आयोजित पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट साढे आठ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । पाइला पाइलाको आशा नामक सामाजिक संस्थाले आयोजना गरेको शिविरमा विदेशी चिकित्सकसहितको टोलीले बालबालिकादेखि वृृद्धवृद्धालाई उपचारसहित स्वास्थ्य परामर्श र औषधी वितरण गरेका थिए ।
शिविरमा थासाङ गाउँपालिका–२, टुकुचेमा तीन सय ६ जना, घरपझोङ गाउँपालिका–२ मार्फामा एक सय ९३ जना र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी तीन सय ५१ जनाले सर्वसाधारणले विभिन्न रोगको स्वास्थ्य सेवा पाएको संस्थाका नेपाल प्रतिनिधि पासाङ लामाले बताउनुभयो ।
शिविरमा २२ जना विदेशी र पाँच जना नेपाली चिकित्सकसहित स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए । शिविरमा पाँच सय ३६ जनाले दाँतको उपचार गरिएकोमा दाँत उखालिएर एक सय ८७ जनाले दाँत लगाएको, तीन सय १२ जना महिलाको पाठेघरको भिआइए परीक्षण गर्दा पाँच जना महिलाहरूमा भिआइए पोजेटिभ देखिएको थियो ।
शिविरमा सुगर चेक, ओपीडि सेवा, हाडर्जोनीसम्बन्धी समस्या भएकालाई उपचार, महिलाको स्त्रीरोगसम्बन्धी चेकजाँच गरिएको, बालबालिकाको बालरोगसम्बन्धी समस्यासहित विभिन्न रोगबाट ग्रसित सर्वसाधारणको उपचार गरिएको डा. पासाङकाजी लामाले बताउनुभयो । मुस्ताङको माथिल्लो क्षेत्रमा बस्ने महिला, मजदुरी गर्न पुगेकाहरूले नियमित चेकजाँच नगर्दा पाठेघरमा समस्या देखिएको चिकित्कको टोलीको भनाइ छ ।
भिआइए पोजेटिभ देखिएका महिलाको आर्थिक अवस्था कमजोर भएकाले संस्थमार्फत नै थप उपचारका लागि काठमाडौँ लगेर निःशुल्क सेवा दिने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४का वडा अध्यक्ष कर्मा ग्याछो गुरूङले बताउनुभयो । वडा अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘जनचेतनाको अभावका कारण रोग पालेर बसेकालाई शिविर बरदान सावित भएको छ,महिलालको जटिल समस्या पहिचान भएको छ ।’’
शैक्षिक र स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाले यस अगाडि कागबेनी बाढी प्रभावितलाई राहत तथा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक पोशाक वितरण समेत गरिएको थियो ।