• १३ वैशाख २०८२, शनिबार

गाडीले ठक्करले दिएर ज्यान गुमाएका बुढाको शव साता दिनदेखि सडकमै

blog

दोषी उपर कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गर्दै आन्दोलनरत पीडित पक्षहरू । तस्बिर: नेत्र

नेत्र शाही

जुम्ला, वैशाख १३ गते ।  सुर्खेतमा गाडिले ठक्कर दिएर ज्यान गुमाएका जुम्ला हिमा गाउँपालिका– ४ निवासी कालीबहादुर बुढाको शव साता दिन देखि सडकमै छ । प्रशासनले गाडी चालकलाई उन्मुक्ति दिएको भन्दै उनका आफन्तले दोषीलाई कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

शव जिम्मा लिन नमानेका आफन्तहरूले निर्मम तरिकाले गाडीले ठक्कर दिएर मारेको भन्दै तत्काल दोषी उपर कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी प्रशासनले पीडित पक्षलाई न्याय नदिएको र उल्टै दोषीलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ । 

उनीहरू माग पुरा नभएसम्म शव जिम्मा नलिने भन्दै  नाराबाजी सहित सडकमा टायर बालेर शुक्रवार देखि थप आन्दोलन चर्काएका छन् । गत वैशाख ७ गते बिहान कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत रेडियो नेपाल नजिकै मध्य पश्चिम यातायात प्रालिको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिएर बुढाको ज्यान गएको थियो । 

घटना पछि ‘मध्यपश्चिम यातायात प्रालिले दादागिरी शैलीमा उल्टै थर्काउँदै माग प्रति कुनै चासो नदेखाएको आरोप छ । 

गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिनुभयो ।