काठमाडौँ, वैशाख १३ गते । वैशाख महिना विवाहको मौसम ! तर अहिले विवाहको शैलीमा जताततै परिवर्तन आएको छ । कुनै समय विवाह गरेर डोली चढाई बेहुली ल्याइने चलन हिजोआज मोटर गाडीले लिएको छ । कलात्मक ढङ्गले निर्माण गरिएका दुलहा बोक्नका लागि प्रयोग गरिने डोली हराउँदै गएको हो । बाह्य संस्कृतिको प्रभावका कारण डोलीको सट्टा दुलहा/दुलही बोक्नका लागि यातायातका साधन कार, बस र जिपको प्रयोग हुन थालेपछि विवाहमा डोली हराउँदै गएको संस्कृतिविद्को भनाइ छ ।
डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् । गाउँघरतिर डोली प्रयोग हुन छोडेपछि धेरैको आम्दानी पनि सुकेको छ । हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । डोलीमा रङ्गीचङ्गी कपडाको मोहोरी, खिल्वार, छौना, मचिया, पर्गेहनी, लाखक चुनरिया, वहन्वार, घारा, लोटा, घन्टी, पघा र स्याँठाको प्रयोग हुने गरेको छ । यसरी बनाइएको डोली बोक्न दुई जनाको आवश्यकता पर्दछ । दुलहीको घरमा जन्ती लगेर जाँदा भने विशेष प्रकारले बनाएको चन्डोलको प्रयोग हुने गर्दछ । दुलहाको इज्जत र पहिचान बेग्लै बनाउनका चन्डोलको महत्वपूर्ण भूमिका रहन्छ । चन्डोल बनाउन छ जना, वहन्वार, घन्टी, घारा, स्वाँठा, खटिया, पर्नेहनी र पनहीको आवश्यकता पर्ने गर्दछ । चन्डोलमा दुलहालाई सवार गराएर चार जनाले बोक्ने गरी बनाइएको हुन्छ तर पछिल्लो समय डोली र चन्डोलमा राखेर लैजाने प्रचलन बिरलै मात्र देख्न पाइन्छ ।
डोलीपछि दुलहा/दुलहीलाई घोडामा सवारी गराउन थालियो । परम्परागत डोली छाडेर घोडामा सवारी गर्दा सहज र छिटो हुने धेरैको ठम्याइ छ तर यो क्रम यत्तिमै रोकिएन । विवाहमा दुलहा/दुलहीका लागि कारदेखि हेलिकोप्टरसम्म प्रयोग हुन थाल्यो । पछिल्लो समय सहरी क्षेत्रमा बग्गीको प्रचलन बढेको छ । छोटो दुरीका लागि दुलहा र दुलहीलाई बग्गीमा सवारी गराउन थालिएको छ । विवाहलाई भव्य बनाउनका लागि यो एउटा राम्रो विकल्प बनेको छ । विगतमा राजपरिवारको विशेष सवारीसाधन हुन्थ्यो, बग्गी । राजपरिवारका सदस्यले कतै आउजाउ गर्नका लागि घोडाले तान्ने आकर्षक बग्गीको प्रयोग गर्थे । पछि राजपरिवार र सम्भ्रान्त वर्गले आफ्ना विशेष समारोहमा बग्गी चढ्न थाले । अहिले भने विवाहका लागि यसको प्रयोग व्यापक बन्दै छ । विवाहलाई विशेष बनाउन एवं राजसी ठाँटको बनाउन बग्गी प्रयोग गर्न थालिएको छ । अब सर्वसाधारणले पनि निश्चित समयका लागि यसलाई भाडामा लिएर चलाउने गरेका छन् ।
नायक राजेश हमाल हेलिकोप्टर चार्टर गरेर आफ्नो कपाल काट्ने हजाम सुरेन्द्र ठाकुरको विवाहमा सर्लाही बबरगन्ज गाविस–४ मा सहभागी हुनुभएको थियो । अहिले विवाहको संस्कारमा परिवर्तन आउनुमा रीतिरिवाज परिवर्तनशील भएकोले हुन सक्ने साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग बताउनुहुन्छ । उहाँका अनुसार यो परिवर्तनशील नियमको गाथा नै हो । अहिलेका युवाजमातले पहिलेका कुराको चाल पनि पाउँदैनन् र त्यसको हेक्का पनि राख्दैनन् । यो प्राकृतिक नियम पनि हो र यो परिवर्तन हुनु राम्रो पनि हो । आफ्नो विवाह मागी र प्रेम दुवै भएको पनि उहाँले बताउनुभयो ।
गत वर्ष ह्यात रिजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदीप श्रेष्ठले नायिका आँचल शर्मालाई हेलिकोप्टर चार्टर गरेर ल्याएको कुरा पनि धेरै चर्चाको विषय बनेको थियो । हेलिकोप्टरबाट आँचलको हात समाउँदै जब उदीप झर्नुभयो सबै चकित भएका थिए । मौलिक चलनचल्तीलाई आउने पुस्ताले पनि अनुसरण गर्ने बनाउन सके यो विविधता बचाइराख्न सकिन्थ्यो भन्नेमा पुरानो पुस्ता एकमत छ तर बढ्दो आधुनिकता र देखासिकीले भइरहेका चलन हराउने र आधुनिकताका नाममा भड्किला संस्कृति भित्रिनु चिन्ताको विषय भएको संस्कृतविद्को धारणा छ ।