चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १२ गते । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार सङ्घका नवनिर्वाचित अध्यक्ष विकास गौतमले मनोनित पदाधिकारी तथा सदस्यलाई सपथग्रण गराउनु भएसँगै कार्यसमितिले पूर्णता पाएको हो ।
अध्यक्ष गौतमले वरिष्ठ उपाध्यक्षमा दावा शेर्पासहित मनोनित सदस्यमा भद्रवीर रेग्मी, रेवतबहादुर श्रेष्ठ, भोला बराल, नन्दकुमार बानिया, हेमनाथ केसी र गीता भट्टराईलाई शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण गर्नुभएको छ । वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र केही सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।
विधानमा भएको व्यवस्था अनुसार मनोनित हुनुभएका पदाधिकारी तथा सदस्यलाई अध्यक्ष गौतमले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको सङ्घका कार्यकारी निर्देशक भीष्मराज बरालले जानकारी दिनुभयो । विधान अनुसार नै नवनिर्वाचित अध्यक्षपछि दोस्रो बरियतामा निवर्तमान अध्यक्ष रहने व्यवस्था भएकाले सङ्घको कार्यसमिति २८ सदस्यीय भएको बरालले बताउनुभयो ।
गत चैत १७ गते सम्पन्न सङ्घको १७ औं साधारणसभामार्फत २७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । साधारणसभाबाट अध्यक्षमा गौतम, प्रथम उपाध्यक्ष शान्ति मादेन, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतीय उपाध्यक्षमा रूपक घिमिरे चयन हुनुभएको थियो । यस्तै महासचिवमा कमल लिम्बू, सचिव खेमराज केसी र कोषाध्यक्षमा युवराज महतारा चयन हुनुभएको छ । यसैगरी साधारणसभाले अन्य १४ जना कार्यसमिति सदस्य निर्विरोध निर्वाचित गरेको थियो ।