• १२ वैशाख २०८२, शुक्रबार

पर्यटन प्रवर्धन गर्न हेटौँडा-सौराहा साइकल यात्रा

blog

हेटौँडादेखि चितवनको सौराहासम्म साइकल यात्रा गरिर्दै । तस्बिर : अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, वैशाख १२ गते । पर्यटन प्रवर्धनका लागि हेटौँडादेखि चितवनको सौराहासम्म साइकल यात्रा गरिएको छ । शुक्रवार बिहान बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले हेटौँडाको बुद्ध चोकमा साइकल चढेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । 

साइकल यात्रा वनस्खण्डी मन्दिर, भुटनदेवी मन्दिर हुँदै हेटौँडाको बुद्ध चोकबाट मनहरी र लोथरबाट भित्र छिरेर जङ्गल राइड हुँदै करिब ७२ किलोमिटरको यात्रातय गरेर सौराहा पुगेर शनिवार समापन हुनेछ ।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका पाँचसय ६१ जना साइकल यात्रीले सहभागिता जनाउनुभएको कार्यक्रम संयोजक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। यात्रामा १४ वर्ष भन्दा बढी उमेर समूहका साइकल यात्रीको सहभागिता रहेको हेटौँडा साइकल सिटीका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिनुभयो । 

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, साइकल सिटी हेटौँडाको समन्वयमा तथा स्थानीय तह र सङ्घसंस्थाको सहयोगमा साइकल यात्रा भएको हो । हेटौँडा–सौराहा साइकलयात्रमा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पछिल्लो समय मकवानपुरमा नियमित साइकल यात्रा गर्नेको सङ्ख्या दुइसयबढी रहेको छ । स्वास्थ्यका लागि साइकलप्रति यहाँ आकर्षण बढ्दै गएपनि छुट्टै साइकल लेनको अभाव रहेको छ । केही समयअघि हेटौँडा उपमहानगरपालिको आर्थिक सहयोगमा हेटौँडाको बुद्ध चोकबाट राप्तीरोड, उद्योग वाणिज्य सङ्घ चोक र कान्तिलोकपथ तर्फ साइकल लेन निर्माण गरिएपनि त्यसको प्रयोग हुन नसकेको हो । 

सडक साँघुरो भएका कारण साइकल लेनमा सवारी साधन पार्किङ हुने गरेको छ ।