देवरामप्रसाद यादव
सप्तरी, वैशाख १२ गते । सप्तरीसहित तराई–मधेशमा दैनिक गर्मी बढ्दै गएको छ । वैशाख दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको हो ।
सप्तरीको राजविराजसहित तराई–मधेश क्षेत्रमा केही समय यता मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ।
सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । केही समय यता वर्षा नभएपछि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयहरू बताउनुहुन्छ ।
गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन्।
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन्।
गजेन्द्रनारायण सिहं अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशकुमार साहका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा साहको भनाइ छ ।
डा. साहका अनुसार गर्मी बढेसँगै सप्तरीमा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा. साहको कथन छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।
समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । युनिर्भसल उच्च माध्यमिक विद्यालय रावविराजका संस्थापक जयनारायण मण्डलले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताउनुभयो । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उहाँले भन्नुभयाे, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको मण्डलले बताउनुभयो ।
गर्मीका कारण नानीहरूलाई निजी विद्यालय पुर्याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक प्रमिला सदा बताउनुहुन्छ । “विद्यालयमा केही पङ्खा भए पनि गर्मीले साना नानीहरूलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, सदाले बताउनुभयो , “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” अभिभाव राधेश्याम यादवले गर्मीका कारण नानीहरू सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताउनुभयो । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, यादवले भन्नुभयो ।
गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले राजविराज बजारका होटल तथा चोकचोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ ।
अहिले बजारमा उखुको जुस, सर्बत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको राजविराज दशन चोकका अमृत लस्सी पसलका सञ्चालक खोखा साहले बताउनुभयो ।
दैनिक उखुको रस पेल्दै आएका राजविराजका शिवराम साहले बिहानदेखि साँझसम्म चिसो पिउनेको भीड लाग्ने गरेको बताउनुभयो । राजविराजका शिवम डेरीका सञ्चालक सुदामा सिहले कुल्फी, आइसक्रिमको बिक्री वितरण बढेको बताउनुभयो ।