• २४ जेठ २०८२, शनिबार

स्वचालित सरुवा प्रणाली

blog

सार्वजनिक प्रशासन भन्नाले सार्वजनिक हितका लागि सञ्चालन गरिने प्रशासनिक व्यवस्थालाई जनाउँछ । यस अन्तर्गत विकास प्रशासन, मानव स्रोत व्यवस्थापन, आर्थिक प्रशासनलगायत अन्य प्रशासनिक व्यवस्था पर्छन् । सबै किसिमका प्रशासनिक व्यवस्था सञ्चालनका लागि प्रमुख साधनको रूपमा जनसाधन, भौतिक साधन, वित्तीय साधन, सूचना तथा सञ्चार जस्ता साधनको महत्वपूर्ण स्थान रहेको हुन्छ । यी स्रोतसाधनमध्ये मानव स्रोत व्यवस्थापन–साधनको महìवपूर्ण भूमिका रहेको हुन्छ । परम्परागत रूपमा भन्नु पर्दा मानव स्रोत व्यवस्थापनलाई कर्मचारी प्रशासन भनिन्छ । कर्मचारीको नियुक्ति देखिन अवकाशसम्मको कार्य गर्ने काममा सार्वजनिक प्रशासन भित्र मानवस्रोत व्यवस्थापनबाट भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । आधुनिक व्यवस्थापनमा कर्मचारीको परिचालनका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा (राइट म्यान राइट प्लेस) अवधारणा अनुरूप कर्मचारीको सही ढङ्गबाट परिचालन गरेर नै संस्थालाई सुशासनका मूल्यमान्यताबाट स्थापित गर्न सकिन्छ ।

सार्वजनिक प्रशासनमा कर्मचारीको सरुवा भन्नाले कर्मचारीलाई जिम्मेवारीमा ठोस परिवर्तन नगरी एक कामबाट, एक ठाउँबाट अर्को काममा पठाउने वा स्थानान्तरण गर्ने बुझिन्छ । सार्वजनिक कार्यालयमा एक असल सरुवा नीति हुन आवश्यक छ । असल सरुवा नीतिले कर्मचारीलाई मात्रै उत्प्रेरित गर्ने होइन यसले उत्पादकत्व अभिवृद्विमा पनि सहयोग पुग्छ । असल सरुवा नीतिले कर्मचारीको कार्यकुशलतामा वृद्वि गर्नका साथै यसले उनीहरूलाई कार्यसन्तुष्टि दिलाउँछ । यसले मन्त्रालयहरू, विभागहरू र विभिन्न कार्यालयमा हुने अधिक कर्मचारीको चाप वा न्यून कर्मचारीका कारणले सेवाग्राहीले दुःख र झन्झट बेहोर्नुपर्ने स्थितिको अन्त्य हुने छ । यसले सार्वजनिक प्रशासनभित्र भइरहेको राजनीतिक हस्तक्षेप वा अति राजनीतीकरणको पनि क्रमशः अन्त्य हुने छ ।

कर्मचारीलाई सरुवा गर्नको प्रमुख उद्देश्यहरूमा संस्थाको आवश्यकता अनुसार कर्मचारी परिचालन गर्न, कर्मचारीलाई कामको ज्ञान, अनुभव प्रदान गर्न मुख्यतया यिनै उद्देश्यबाट सरुवा गरिन्छ । सामान्यतया कर्मचारीहरूको सरुवा गर्ने विभिन्न कारण रहेका हुन्छन् । एक कार्यालयमा बढी कर्मचारी भएमा न्यून भएका कार्यालयमा सरुवा गर्ने परिपाटी रहेको छ । यस्तै मन्त्रालय, विभागका कामहरूमा सन्तुलन कायम गर्न, एकै व्यक्तिलाई लामो अवधिसम्म एउटै मात्र कार्यालयमा राखी राख्न उचित नहुँदा र सुरु पदस्थापना वा नियुक्तिको समयमा भएको गल्तीलाई सुधार गर्न पनि सरुवा गर्ने गरिन्छ । यस्तै विभागीय कार्य ठिक ढङ्गबाट सञ्चालन गर्न निमित्त खास योग्यता भएका कर्मचारीको सरुवा गर्नुपर्ने आवश्यकता हुने गर्छ । यस्तै कार्य विश्लेषण तथा कार्य मूल्याङ्कनबाट कर्मचारीलाई उसको अनुकूल कार्यमा राख्नुपर्ने आवश्यकता महसुस हुँदा पनि सरुवा हुने गरेको छ । यस्तै कर्मचारीका लागि सरुवा वृत्ति विकासका लागि पनि हुने गरेकाले कर्मचारीको माग र चाहनाले पनि सरुवा हुने गर्छ । कर्मचारीहरू विद्यमान काम र जिम्मेवारीबाट सन्तुष्टि नभएको अवस्थामा तथा विद्यमान कार्यमा वा भौगोलिक क्षेत्र र हावापानीमा काम गर्दा कर्मचारीको स्वास्थ्य अवस्था ठिक नभएको अवस्था तथा कर्मचारीको रुचिमा परिवर्तन भएको अवस्थामा पनि सरुवा हुने गरेको छ ।

तर संस्थामा कर्मचारीबिच द्वन्द्व उत्पन्न भयो भने कर्मचारीलाई अन्यत्रै सरुवा गरेर द्वन्द्व समाधान गर्ने माध्यमको रूपमा पनि सरुवाको हतियार प्रयोग गरिन्छ । संस्थामा द्वन्द्व उत्पन्न किन भयो भनेर अध्ययन अनुसन्धान नगरिकन केवल कर्मचारीको मात्रै सरुवा गर्ने परिपाटीले मात्रै पनि संस्थामा द्वन्द्वको निराकरण हुन सक्तैन । प्रायः व्यवस्थापकमा संस्था भित्र के कारणले समस्या उत्पन्न भयो भन्ने बारेमा ‘कारण र परिणाम’ बारे अध्ययन अनुसन्धान गरेर समस्या समाधान गर्नुको सट्टा सजिलो हतियार सरुवालाई प्रयोग गर्ने गरेको पाइन्छ । यस किसिमको कार्यशैलीले व्यवस्थापनको कुशलता प्रदर्शित हुँदैन ।

सामान्यतयाः कर्मचारीको सरुवाबाट स्वयम् कर्मचारीलाई नै फाइदा हुन्छ । सरुवाबाट कर्मचारीको ज्ञान, सिप र दक्षताको वृद्वि हुन्छ र यसबाट संस्थाभित्र जनशक्तिको विकास पनि हुन्छ । सरुवा भएर एक ठाउँबाट अर्को ठाउँमा जादा नयाँ नयाँ कर्मचारीसँग सम्बन्ध वृद्वि हुने, नयाँ ठाउँको अनुभव हासिल हुने, सेवाग्राहीसँग परिचित हुने, कर्मचारीको मनोबल पनि उच्च हुन्छ र भविष्यमा नयाँ काम र जिम्मेवारी वहन गर्न कर्मचारीलाई मद्दत पुग्छ तर नेपालको सार्वजनिक प्रशासनमा सरुवा प्रणाली सहज रूपमा लागु हुने गरेको छैन । पहिलो त स्वयम् कर्मचारीले नै आफू कार्यरत रहे ठाउँमा नै अनवरत काम गर्ने चाहना राखेका हुन्छन् । खासगरी घर पायक कार्यरत रहेका तथा पारिवारिक स्थितिले गर्दा यस किसिमका कर्मचारीले सरुवालाई सहज रूपमा लिदैनन् । यस्तै अनुभवी कर्मचारीको खाडल बढ्ने, संस्थागत मेमोरी नहुने, जे जसरी पनि सरुवाको प्रणालीले खर्च बढने आदि समस्या पनि उत्पन्न हुने गरेको छ ।

सरुवा प्रणाली व्यवस्थित नहुँदा अनियमितता र भ्रष्टाचार बढेर गएको, सरकारका नीति कार्यक्रम प्रभावकारी रूपमा लागु नभएको, पुँजीगत खर्च बढ्न नसकेको, आयोजनाहरू समयमा पूरा हुन नसकेको आदि समस्या उत्पन्न हुने गरेको टिप्पणी हुने गरेको छ । सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेट संसद्समक्ष प्रस्तुत गर्ने गर्छ । संसद्बाट बजेट पारित भएपछि सरकारको नीति कार्यक्रमलाई लागु गर्ने मुख्य अधिकारी भनेको मन्त्रालयका सचिवहरू नै हुन् तर एउटा मन्त्रालयमा तीन/चार महिनामै सचिवहरू सरुवा हुने परिपाटी रहेको छ । यसरी चाँडो चाँडो सरुवा हुने गर्ने परिपाटीले नै सरकारका नीति तथा कार्यक्रमहरू लागु हुन सकेको छैन तर राजनीतिक क्षेत्रमा यस विषयलाई गम्भीरतापूर्वक लिइएको देखिँदैन । मन्त्रीको परिवर्तन हुनेबित्तिकै मन्त्रालयका सचिव, सहसचिवदेखि कार्यालय सहयोगीसम्म सरुवा गर्ने परिपाटी विद्यमान छ । 

यति मात्रै होइन सरुवा प्रणाली वैज्ञानिक नहुँदा ट्रेड युनियनहरूबाट सरुवाको लिस्ट लिएर मन्त्रालयका सचिवसमक्ष बुझाउने गरिएको, लिस्टबमोजिम सरुवा गर्न दबाब दिने गरिएको भन्ने टिप्पणी पनि हुने गरेको पाइन्छ । यसरी बिना औचित्य आदेश, दबाब, प्रभावमा परेर कर्मचारीहरूको सरुवा हुने गरेको विषयले सार्वजनिक प्रशासनभित्र उपयुक्त व्यक्ति उपयुक्त स्थानमा पदस्थापना हुन नसकेको, आयोजना, परियोजना सञ्चालनको जिम्मेवारी लिएका कर्मचारीलाई अवधि नपुग्दै सरुवा हुने गर्ने परिपाटीले आयोजना सञ्चालनमा जवाफदेही नहुने, समयमा आयोजना सम्पन्न नहुने र यसबाट आयोजनाको लागत बढ्ने गरेको छ । बढी बजेट हुने, बढी आर्थिक कारोबार हुने मालदार अफिसमा जान रुचाउने, सरुवा गर्न दबाब दिने तर सामान्य अफिसमा सरुवा हुन अनिच्छुक हुने परिपाटीले सार्वजनिक प्रशासनको छवि उजेलिन सकेको छैन ।

निजामती सेवा ऐन, नियमावली तथा विभिन्न सार्वजनिक संस्था, बैङ्कका कर्मचारी नियमावलीमा सरुवा प्रणालीका बारेमा उल्लेख भएको छ । तर व्यवहारमा सरुवाका नियमहरूलाई पालना गरिएको छैन । जसले गर्दा सरुवाका कारण सार्वजनिक प्रशासनमा विकृति र विसङ्गति बढेर गएको छ । मन्त्रालयका सचिवहरू मन्त्रालयको नेतृत्व गर्न सक्षम भएर नै त्यो उच्च पदमा पुगेका हुन्छन् तर राजनीतिक तहबाट विश्वास नगर्ने वा सचिवहरू आफूले भने जस्तो छनोट गर्ने खालको वर्तमान सरुवा प्रणालीले समस्या उत्पन्न गरेको विषयलाई सबै क्षेत्रबाट आत्मसात् गर्न जरुरी छ । 

अब सार्वजनिक प्रशासनमा सरुवा प्रणालीलाई स्वचालित, अनुमान योग्य र चक्रीय प्रणालीको रूपमा विकास गर्नु पर्छ । उदाहरणका लागि एक कर्मचारी क्रमशः क, ख, ग, घ समूहको भौगोलिक क्षेत्रका कार्यालयमा सामान्यतया दुई वर्ष व्यतीत भएपछि स्वतः सरुवा हुने परिपाटीले सरुवा पूर्वअनुमान योग्य हुने छ । स्वचालित पनि हुने छ । यस किसिमको सरुवा प्रणालीलाई चक्रीय सरुवा प्रणालीको रूपमा लिन सकिन्छ । यस किसिमको सरुवा प्रणालीमा कसैले कसलाई भनसुन गर्नुपर्ने, नजराना बुझाएर सरुवा गर्ने प्रणालीलाई अन्त्य गर्ने छ । यस्तै सरुवा गर्दा अनावश्यक रकमको लेन देन गर्ने विकृतिपूर्ण परिपाटीको अन्त्य गर्न मद्दत पुग्ने विश्वास लिन सकिन्छ । तर पूर्वानुमान योग्य तथा स्वचालित सरुवा प्रणाली लागु गर्न मुख्यतया राजनीतिक क्षेत्र र कर्मचारी तन्त्रका उच्च पदस्थ अधिकारीहरू प्रतिबद्ध हुनु पर्छ । यस्तै हरेक कार्यालय र सेवाको वर्गीकरण गर्ने र कर्मचारीको विस्तृत विवरणको जानकारी तत्काल हुने गरी सफ्टवेयर प्रणाली लागु गरिनु पर्छ । यसबाट हरेक कर्मचारीको सूचना प्रणालीको विकास गर्न मद्दत पुग्छ । स्वचालित सरुवा प्रणाली वा चक्रीय प्रणाली लागु गर्न सम्बन्धित ऐन, कानुन र कर्मचारी सेवा सर्त नियमावलीमा व्यवस्थित गरिनु पर्छ । स्वचालित सरुवा प्रणालीको माग स्वयम् ट्रेड युनियनको रहेको हुँदा यो व्यवस्था लागु गराउन ट्रेड युनियनहरू पनि प्रतिबद्ध र कटिबद्ध रहनु पर्छ ।