• १३ असोज २०८१, आइतबार

प्रमुखमा कांग्रेसका धामी, उपप्रमुखमा माओवादीका कुँवर विजयी

blog

जिल्ला समन्वय समितिका प्रमुख धामी र उपप्रमुख कुँवर । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, जेठ २४ गते । जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दमन कुँवर विजयी हुनुभएको हो ।

मङ्गलबार सम्पन्न निर्वाचनमा धामीले १२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का मोहनबहादुर थापाले आठ मत प्राप्त गर्नुभयो । उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का दमनबहादुर कुँवरले उनले १० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले ८ मत प्राप्त गर्नुभयो । 

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् । 

त्यसैगरी, तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएका छन् । एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश तिलकबहादुर कार्कीसँग जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।  

जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो । एमालेले एक्लै चुनावी प्रतिस्पर्धा गरेको थियो । 

सात मत बदर

जिल्ला समन्वय समिति बैतडीको मंगलबार सम्पन्न निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै मत बदर भएका छन् । समन्वय समितिको निर्वाचनमा बैतडीका १० स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २०जना मतदाता रहेका थिए ।

मतदानका क्रममा उपप्रमुख पदमा दुई मत बदर भएका छन् भने दलित महिला सदस्यमा दुई  र खुला सदस्यमा तीन मत गरी सात मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।