फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १० गते । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत ११ अस्पताल र ११ आयुर्वेद कार्यालय छन् । लामो समयदेखि दरबन्दी, पूर्वाधार र उपकरण कम हुँदा समस्या झेल्दै आएका यी अस्पताल सरकारले स्तरोन्नति गर्ने भएको छ ।
यी अस्पतालको खर्च अहिले ५९ करोड ७५ लाख रहेकोमा आम्दानी ६६ करोड ४७ लाख छ । मध्यविन्दु प्रादेशिक अस्पताल र धौलागिरिलाई ५० शय्याबाट एक सय शय्यामा विस्तार गरिने भएको छ । मनाङ र मुस्ताङका जिल्ला अस्पताल २५ शय्यामा अन्य जिल्ला अस्पताललाई ५० शय्या बनाउने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाईे मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ ।
गण्डकी सरकारका अस्पतालमा अहिले तीय सय ९५ शय्या रहेकोमा स्तरोन्नतिपछि सात सय शय्या पुग्ने छ । यसैपालि कास्कीको गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पतालले अन्तरङ्ग सेवा सुरु गरेका छन् । ती अस्पताललाई पनि २५ शय्यामा स्तरोन्नति गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णप्रसाद पाठकले स्तरोन्नतिपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार हुने अपेक्षा गर्र्नुभयो । अस्पतालहरु स्तरोन्नतिपछि पूर्वाधार, उपकरण र मानव संसाधनको व्यवस्था गर्दै जाने उहाँको भनाइ छ ।
अहिले पाँच सय ६४ स्थायी दरबन्दी भएकोमा एक सय ८७ रिक्त छन् । स्तरोन्नतिपछि दरबन्दी एक हजार दुई सय ४४ पुग्नेछ । अहिले यी स्वास्थ्य संस्थामा करारसहित एक हजार एक सय ३३ कर्मचारी छन् । अस्पताल स्तरोन्नतिका लागि मनाङ, मुस्ताङ, पर्वत, धौलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार यही वर्ष सकिने क्रममा छन् ।
प्रदेश अस्पताल लमजुङ, तनहु र स्याङ्जाको भवन आगामी वर्षबाट निर्माणको तयारी भएकाले अहिले जनशक्ति व्यवस्थापन नै मुख्य कुरा भएको मन्त्रालयका स्वास्थ्य व्यवस्थापक रमेशकुमार श्रेष्ठ बताउनुहुन्छ । “औजार, उपकरणहरूको उपलब्धता चरणबद्ध रूपमा थप गर्नसमेत सकिन्छ । केही आवश्यक औजार उपकरणहरू सङ्घीय सरकारबाट पनि प्राप्त गर्न सकिने अवस्था छ,” उहाँ भन्नुहुन्छ, “तत्कालको लागि थप लागत जनशक्ति व्यवस्थापनका लागि मात्र भए पुग्ने देखिन्छ ।”
मन्त्रालयले अहिले स्थायी जनशक्तिका लागि २३ करोड ३६ लाख र करार सेवाका कर्मचारीका लागि १२ करोड ७० लाख गरी ३६ करोड ४० लाख खर्च गरिरहेको छ । मन्त्रालयले हालै गरेको अध्ययन अनुसार स्तरोन्नतिपछि जनशक्ति थप हुँदा ११ करोड १२ लाख दायित्व बढ्ने देखाएको छ ।