• २२ माघ २०७९, आइतबार

जोखिम घटाउन नागरिक भूमिका

blog

विश्वव्यापी उदारीकरण, विभिन्न क्षेत्रीय, बहुपक्षीय तथा द्विपक्षीय सन्धि सम्झौता भएसँगै उपभोक्ताले विश्व बजारमा उपलब्ध हुने वस्तु तथा सेवाको प्रयोग गर्ने अवसर र अधिकार पाएका छन् । देशभित्र उत्पादन हुने वस्तु तथा सेवालाई विश्व बजारको पहुँचमा पु-याई विदेशी मुद्रा आर्जन गर्ने अवसरका साथसाथै विदेशी मालसामानको सजिलै उपभोग गर्ने अवसर पनि प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय व्यापारबाट सिर्जना भएका विभिन्न अवसरको सबैभन्दा बढी फाइदा उत्पादनमुखी तथा निर्यातकर्ता राष्ट्रलाई हुन पुगेको छ भने आयातमुखी अर्थ व्यवस्था भएका राष्ट्रले दैनिक उपभोग्य वस्तु तथा सेवाको उपभोगका लागिसमेत अन्य देशमा भर पर्ने अवस्था सिर्जना भई व्यापार घाटा काबुबाहिरको अवस्थामा पुग्ने तथा महत्त्वपूर्ण मालसामान खरिद गर्न आवश्यक पर्ने विदेशी मुद्राको सञ्चितिमा पनि ह्रासको जोखिम खेपिरहेका छन् । 

निजीकरण तथा उदारीकरणपश्चात् नेपाली समाजमा आएको परिवर्तन र सांस्कृतिक परिवर्तनसँगै उपभोक्तामा वस्तु तथा सेवाको उपभोग गर्ने प्रवृत्तिमा पनि परिवर्तन भएको छ । आम नागरिकले देशको अर्थ व्यवस्थाको प्रकृतिबमोजिम विश्व बजारमा उपलब्ध हुने वस्तु तथा सेवा आफ्नो क्षमता र इच्छाबमोजिम खरिद गरी उपभोग गर्ने गर्छन् । विश्व बजारमा उपलब्ध हुने र कानुनी वैधता पाएका वस्तु तथा सेवा खरिद गरी उपभोग गर्न नागरिक स्वतन्त्र हुन्छन् ।

मजबुत अर्थ व्यवस्था भएको अवस्थामा नागरिकको अधिकारबमोजिम उपभोक्ताले विश्व बजारमा उपलब्ध हुने मालसामान आफ्नो इच्छा र क्षमताबमोजिम उपभोग गर्न आयात गर्दा अर्थ व्यवस्थामा खासै नकारात्मक असर नपर्ने तर कमजोर एवं जोखिमयुक्त आर्थिक स्थितिमा आम नागरिकका लागि आवश्यक पर्ने दैनिक उपभोग्य मालसामान पनि प्रचुर मात्रामा आयात गर्ने, अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने भरपर्दो स्रोत नभई व्यापार घाटा तथा न्यून सोधनान्तर बचत हुने अवस्थामा पनि विलासिताका वस्तु चरम मात्रामा आयात गर्दा तत्काल देशभित्रै उत्पादन गर्न नसकिने तर महत्त्वपूर्ण वस्तु पनि आयात गर्न नसकिने हुँदा राज्य एवं सम्पूर्ण नागरिकका लागि घातक हुन जान्छ । 

उपभोक्ता अधिकारमा आएको विस्तार तथा उदारीकरणसँगै मध्यम तथा उच्च वर्गमा विलासिताका वस्तुप्रतिको चरम मोह, देखावटी तथा आयातित भौतिकवादको संस्कृतिले आयातमा झनै दबाब सिर्जना हुँदा त्यसको प्रत्यक्ष प्रभाव सम्पूर्ण नागरिकमा पर्न जान्छ । पछिल्लो दुई दशकयता कृषि क्षेत्रमा अपनाइएका नीतिको अप्रभावकारिता एवं कृषि पेसाप्रतिको सामाजिक मनोभाव परिवर्तन भई कृषि उत्पादनमा आएको नाटकीय ह्रास र कृषिजन्य वस्तुको चरम आयात, भौतिकवाद संस्कृतिअन्तर्गत महँगा विदेशी फर्निचर, महँगा धातु, मोबाइल, विलासिताका महँगा सवारीसाधन, सजावटका सामान तथा समाज, संस्कृति र आर्थिक क्षेत्रमा कुनै पनि किसिमको योगदान नगर्ने किसिमका वस्तुको चरम आयातले विदेशी मुद्राको माग बढी भई नेपाली मुद्रा अवमूल्यन हुने र अर्थ व्यवस्था नै कमजोर हुने जोखिम रहन्छ ।

आयातको तथ्याङ्क हेर्दा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, उपकरण, औषधि, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेसन उपकरण, चामल÷धान, फलाम, स्टिल, सुन, कच्चा पाम तेल, धागोलगायतका वस्तुको भार धेरै रहेको छ । यस्ता वस्तुबाहेक दैनिक उपभोग्य वस्तु जस्तै– तरकारी, फलफूल, कपडा, मोबाइल, फर्निचरलगायतका वस्तुमा पनि अर्बौं रुपियाँ बाहिर जाने गर्छ । चाडपर्व तथा पारिवारिक कार्यक्रममा देखावटी प्रतिस्पर्धी मानसिकताले ऋण लिएर पनि आयातित महँगा मालसामानको प्रयोग गर्ने प्रवृत्तिले नेपाली समाजलाई चरम भौतिकतावार्दतर्फ उन्मुख गर्दै राष्ट्रिय बचतमा ह्रास तथा लगानीयोग्य पुँजीको अभाव सिर्जना गरिरहेको छ ।

देखावटी संस्कृति, विलासिताका वस्तु तथा सेवाको अधिक प्रयोगजस्ता सांस्कृतिक विचलनका कारण देशभित्र वस्तु तथा सेवाको उत्पादन कम हुने, विपे्रषणको महìवपूर्ण हिस्सा विदेशी मालसामान खरिदमै प्रयोग हुने, आधारभूत तथा दैनिक उपभोगका मालसामानका लागि पनि परनिर्भर हुने अवस्थामा आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना नहुने, निर्यातमा कमी तथा आयातमा हुने अधिक वृद्विले नेपाली अर्थ व्यवस्था जोखिमयुक्त रहन्छ । 

सुसम्पन्न नागरिकसहितको सबल र दीर्घ आर्थिक अवस्थामा सार्वजनिक, निजी क्षेत्र तथा नागरिकले आफ्नो क्षमताबमोजिम स्वदेशी वा आयातित आरामदायी वस्तु, सेवा, सुविधा उपभोग गर्नु सुसम्पन तथा विकसित राष्ट्रको विशेषता हुनसक्छ तर कमजोर, आयातमुखी, विदेशी मुद्रा कमाइको दीर्घकालीन स्रोतको सीमितता एवं अभाव र मूलतः चरम आर्थिक जोखिम रहेको अवस्थामा सार्वजनिक, निजी क्षेत्र तथा नागरिकले आरामदायी र विलासिताका आयातित वस्तुको बढी प्रयोग गर्दा आर्थिक सङ्कटको सम्भावना पनि बढी हुन्छ । 

बजारको सिद्धान्तअनुसार माग बढ्दै जाँदा त्यहीबमोजिम आपूर्ति नभए मूल्य पनि बढ्दै जान्छ । वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्राको माग बढी हुन गई विदेशी मुद्रा सञ्चिति पनि घट्दै जान्छ । विश्व बजारमा आएको मुद्रास्फीतिले वस्तु तथा सेवा आयात गरेबापत तिर्नुपर्ने विदेशी मुद्रा पनि बढ्दै गइरहेको छ । विदेशी मुद्रा आर्जन गर्न वस्तु तथा सेवाको निर्यात, विदेशी बजारबाट नाफा तथा विप्रेषण भिœयाउनु महìवपूर्ण हुन्छ ।

हाल नेपालको सन्दर्भमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत विप्रेषण छ । तथापि सो रकम पनि आयात धान्न अपुग रहेको छ । समान्य अवस्थामा यदि खर्च बढ्दै जान्छ भने आयआर्जन उपायको पहिचान गरी विवेकपूर्वक आफ्नो क्षमता र इच्छाअनुसार वस्तु तथा सेवाको उपभोग गर्ने गरिन्छ । 

चरम आर्थिक सङ्कट, आयआर्जनको दीर्घ स्रोतको अभाव, नियन्त्रणभन्दा बाहिरको प्रभाव रहेको अवस्थामा देशभित्र उत्पादन हुने वस्तु तथा सेवाको उपभोग गर्ने, आयातित विलासिताका वस्तुको कम प्रयोग, अति आवश्यक भएको अवस्थामा मात्र आयातित मालसामानको प्रयोगले बाहिरी क्षेत्रमा कम दबाब पर्ने हुन्छ ।

नेपालको आन्तरिक माग धान्ने उत्पादन सम्भावना रहेका तर प्रचुर मात्रामा आयात हुने वस्तुको आन्तरिक रूपमै उत्पादन गर्न प्रभावकारी निति निर्माण तथा नतिजा उन्मुख कार्यान्वयन गरी त्यस्ता वस्तुका आयात प्रतिस्थापन गर्न सकिन्छ । 

दीर्घकालीन रूपमा अपनाउनुपर्ने नीतिगत सुधारका अलावा तत्कालै अपनाउनुपर्ने उपायमा आम नागरिकको तर्फबाट अपनाउन सकिने एक महत्त्वपूर्ण उपाय आयातित मालसामानको किफायती प्रयोग हो । पारिवारिक तथा सामाजिक कार्यक्रम, चाडपर्व, बिहे, व्रतबन्ध तथा अन्य उत्सवमा आयातित मालसामानको न्यून प्रयोग गर्ने, सम्भव भएसम्म आफ्नो खाली जग्गामा तरकारी खेती गर्ने, महँगो विदेशी कस्मेटिक सामान, महँगा मोबाइल, घडी, लुगा, जुत्ता, सजावटका सामान तथा इन्धनको किफायती रूपमा प्रयोग गर्दा पनि अर्बांैको बचत हुने सम्भावना रहन्छ । 

आयातमुखी अर्थ व्यवस्थामा लगानीका लागि बचतको महìवपूर्ण भूमिका रहने गर्छ । परिवर्तित नेपाली समाजले खर्च र बचत प्रवृत्तिमा सन्तुलन गर्न नसक्दा राष्ट्रिय बचत पनि न्यून रहने गर्छ । फलस्वरूप लगानीयोग्य पुँजी कम भई देशभित्र रोजगारीका अवसर तथा उत्पादनमा पनि कमी हुन आउँछ । राष्ट्रिय बचतका लागि नागरिकले आयातित खासगरी विलासिताका वस्तु तथा सेवाको कम प्रयोग, प्रभावकारी खर्च गर्ने सही योजना बनाउने र प्राथमिकताबमोजिम खर्च गरी बचत गर्ने बानीको विकासबाट लगानीका लागि पुँजी सिर्जनामा योगदान पु-याउन सकिन्छ । 

सरकार, राजनीतिक दल, कर्मचारी प्रणाली तथा राज्यका अङ्गहरूले दशकाँैदेखि आफ्नो नीति, विधि तथा प्रयासबाट व्यापार घाटा कम गर्ने उपाय अपनाउँदासमेत अधिक अन्तर्राष्ट्रिय व्यापार घाटा, आयातमुखी र बेरोजगारीसहितको अति जोखिमयुक्त अर्थ व्यवस्थाबाट सुरक्षित र भरपर्दो अर्थ व्यवस्था सिर्जना हुन सकेको छैन । 

यस्तो अवस्थामा आम नागरिकले आफ्नै प्रयासबाट देशको अर्थ व्यवस्था जोखिममुक्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ । विश्व व्यापार सङ्गठन तथा क्षेत्रीय व्यापार सङ्गठनका नीति, अन्तर्राष्ट्रिय व्यापार सम्झौताका सिद्धान्तअनुसार आयातित मालसामानको आपूर्ति पक्षलाई पूर्ण रूपमा रोक्न नसकिने अवस्थामा माग पक्षमा सचेतना जगाई आयातित मालसामानको मागमा कमी ल्याउन सके सङ्कट अवस्थामा रहेको अर्थ व्यवस्थालाई आम नेपाली नागरिकको योगदानले सही अवस्थामा ल्याउन सकिन्छ । तसर्थ सबै नेपाली नागरिकले आयातित विलासिताका वस्तु तथा सेवाको देखावटी उपभोग गर्ने भौतिकतावादी सांस्कृतिक विचलनबाट मुक्त भई आर्थिक सङ्कटको बेला जिम्मेवार उपभोक्ता बन्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

Author

शैलेन्द्रप्रसाद भट्ट