• ६ वैशाख २०८२, शनिबार

‘सांसदलाई सवाल’

अब जनताले महसुस गर्नेगरी विकास गर्नुपर्छ : सांसद के.सी

blog

सांसद राजेन्द्रकुमार के.सी. ।

काठमाडौँ, वैशाख ६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार (राजन) के.सी.ले अब जनताले महसुस गर्नेगरी देश विकास गर्नुपर्ने बताउनुभएको छ। देश विकास भए पनि रोजगारीमा युवालाई जोड्न नसकेको स्वीकार गर्दै उहाँले यस्तो बताउनुभएको हो। गोरखापत्र अनलाइनको सांसदलाई सवालमा कुराकानी गर्नुहुँदै सांसद केसीले भन्नुभयो, ‘हामीले संविधान सभा भन्यौँ संविधान सभाबाट संविधान आयो। गणतन्त्र माग्यौं त्यो आयो, लोकतन्त्र भन्यौ सङ्घीय लोकतान्त्रिक व्यवस्था आयो। अब यसको विकल्प छैन। देश विकासका लागि कम्तिमा एउटा पार्टीले पाँच वर्ष सरकार चलाउने अवस्था बन्नुपर्छ। अब बन्ने सरकारले जनताले महसुस गर्नेगरी देश विकास गर्न सक्नुपर्छ।’’

काठमाडौँ १० का सांसद के.सी.को जन्म २०१५ साल असार १९ गते काठमाडौँको तत्कालीन भुतखेल गाविस–२ चोभारमा बुवा पदमबहादुर र आमा टोलकुमारीको कोखबाट भएको हो। त्यो क्षेत्र अहिले कीर्तिपुर नगरपालिका–६ चोभारमा पर्छ। आठ दाजुभाइमा उहाँ कान्छो छोरा हुनुहुन्छ। 



उहाँले औपचारिक शिक्षाको सुरुवात चोभार गाउँकै तत्कालीन आदिनाथ प्राथमिक विद्यालयबाट सुरु गर्नुभएको हो। कक्षा चारदेखि शान्ति निकुञ्जमा अध्ययन गर्नुभएका के.सी.ले २०२९ सालमा एसएलसी पास गर्नुभएको हो। उच्च शिक्षाका लागि उहाँ सरस्वती क्याम्पस लैनचौरमा भर्ना हुनुभयो। सरस्वती क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह (आइए)को पढाइ पूरा गर्नुभयो। स्नातकतह त्रिचन्द्र क्याम्पसबाट पूरा गरेपछि उहाँले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ। 

सांसद के.सीले २०३० सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर राजनीति सुरु गर्नुभएको हो। उहाँ २०४६ सालमा एकाइ सभापति बनेपछि भने उहाँ पूर्णकालीन रूपमै राजनीतिमा सक्रिय हुनुभयो। २०४९ सालको निर्वाचनमा भूतखेल गाविसको वडाध्यक्ष बन्नुभयो। उहाँसँग जिल्ला विकासमा निर्वाचित भएर काम गरेको अनुभवसमेत छ। २०५४ सालमा कीर्तिपुर नगरपालिका बन्यो। त्यसपछि फेरि वडाध्यक्षका रूपमा दोस्रो कार्यकाल विजयी हुनुभयो। २०५४ र २०५९ मा उहाँ क्षेत्रीय सभापति बन्नुभयो। त्यसपछि महासमिति सदस्य बन्नुभएका के.सी. पार्टीको चौधौ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बन्नुभएको हो। 

आम निर्वाचनमा २०६४ सालमा उहाँले पहिलो पटक पार्टीबाट टिकट पाउनुभयो। के.सी. उक्त चुनावमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित हुनुभयो। २०७० मा प्रचण्डलाई हराउँदै उहाँ पहिलो पटक सांसद बन्नुभयो। त्यसपछि २०७४ मा काठमाडौँ १० बाट पुनःनिर्वाचन हुनुभयो। २०७० सालमा उहाँ ९ महिना युवा तथा खेलकुद मन्त्री बन्नुभयो। त्यसपछि उहाँले २०७४ र २०७९ को चुनाव जित्नुभएको हो। अहिले उहाँ संसदको लेखा समिति सदस्य हुनुहुहुन्छ। 

प्रस्तुत छ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार के.सीं.सँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :