काठमाडौँ, वैशाख ४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार र शनिबार दिउँसो सात प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हिमपातको सम्भावना छ ।
भोलि र पर्सी दुई दिन पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।