• २१ असार २०८१, शुक्रबार

नेपाली कला क्षेत्रलाई विश्वसामु चिनाउनुपर्ने खाँचो

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हाम्रो मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको बताउनुभएको छ ।

सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७८ समर्पण समारोहमा राष्ट्रपति भण्डारीले प्रतिष्ठानले हाम्रो मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको बताउनुभएको हो ।


उहाँले अन्तर्राष्ट्रिय जगतमा विकास भइरहेका नयाँ सङ्गीत र नाट्य शैलीको अध्ययन गरी नेपाली कला क्षेत्रलाई सोही अनुरूप आधुनिक विश्वसामु पेश गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो । 


यसै सिलसिलामा प्रतिष्ठानले देशको सङ्गीत एवम् नाट्य क्षेत्रका विशिष्ट साधक तथा प्रतिभाहरूको योगदानबारे अध्ययन गरी पुरस्कृत र सम्मानित गर्ने परम्परा बसाल्नु सराहनीय कार्य रहेको पनि राष्ट्रपतिले बताउनुभयो ।

यस कार्यक्रममा राष्ट्रपति भण्डारीले सङ्गीत, नृत्य तथा नाट्य क्षेत्रका छजना विशिष्ट व्यक्तित्वहरूलाई प्रज्ञा–पुरस्कार, २०७८ बाट पुरस्कृत तथा सम्मानित गर्नुभयो ।


उहाँले रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, शास्त्रीय सङ्गीतज्ञ मोहनप्रसाद जोशी, नृत्याङ्गना–नृत्य निर्देशक वीणा (राजभण्डारी) जोशी, नाट्कर्मी मनबहादुर मुखिया, (सङ्गीतकर्मी मोहन कृष्ण कार्की र लोक गायक अमर बिरही गुरुङलाई पुरस्कृत र सम्मानित गर्नुभएको हो ।


राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘आफ्ना सिर्जना तथा साधनाको माध्यमबाट नेपालको सङ्गीत, नृत्यलगायतका प्रदर्शनकलाको बगैँचालाई सुसज्जित बनाउने व्यक्तित्वहरूका योगदानले हाम्रो समग्र कला‚ साहित्य र संस्कृतिलाई नै उन्नत र समृद्ध बनाएको छ ।’’

राष्ट्रपति भण्डारीले नेपालको सङ्गीत तथा नाट्य क्षेत्रको विकासका लागि सम्मन्वयकारी एवं नेतृत्वदायी भूमिकामा रहेको प्रतिष्ठानका प्रस्तुतिमूलक र अनुसन्धानमूलक कार्यहरूले हाम्रो संस्कृतिको भण्डार थप समृद्ध बनिरहेको धारणा व्यक्त गर्नुभयो ।