गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २ गते । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । चलचित्र कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुने छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तितो यथार्थलाई दर्शकसमक्ष पु-याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताउनुभयो ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रमा प्रमोद प्रधानको छायाङ्कन रहेको छ । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना वज्राचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेतृका रूपमा ल्याउँदै हुनुहुन्छ । यस्तै प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी समाल्नुभएको छ । चलचित्रमा रञ्जित गजमेरको सङ्गीत तथा भारती घिमिरे व्रिmएटिभ निर्देशक रहनुभएको छ ।