काठेखोला (बागलुङ)
बागलुङ, वैशाख २ गते । बागलुङको जैमिनी नगरपालिका–९, पैँयुँथन्थापमा हात्तीको मुखाकृति (सुँड) जस्तै भएको ठुलो ढुङ्गा छ । जसलाई स्थानीयले हात्तीढुङ्गा नामकरण गरेका छन् । उक्त हात्तीढुङ्गा स्थानीय पर्यटकको आकर्षणको केन्द्र बने पनि बाह्य पर्यटकको पर्खाइमा रहेको छ ।
स्थानीय ८० वर्षीय हरिप्रसाद पाध्यायको भनाइ अनुसार २००६ सालतिर सो ढुङ्गा देखिएको हो । तत्कालीन समयको पैँयुँथन्थापको टाउका आसपासको तारेभिरमा पहिरो खसेपछि यो ढुङ्गा देखा परेको हो । त्यतिबेला स्थानीय कालुङखोलामा आएको बाढीले लाम्सुगाउँ नजिकैको फाँट, रुम्टाको फाँटलगायतका धेरै खेतीयोग्य जमिन खोलामा मिलायो । खोला बगेको ठाउँमा बगर बन्यो, बगरखेत खोलामा परिणत भएपछि धान फल्ने खेतमुनि पुरिएका पत्थरहरू छरपस्ट देखिन थाले । लाम्सुगाउँको दक्षिणतर्फ एउटा ठुलो पत्थर देखियो । सोही समयमा स्थानीयले खेतमा काम गर्न र माछा मार्न जाँदा उक्त ढुङ्गा देखेको उहाँ बताउनुहुन्छ ।
स्थानीय पाध्यायले प्रकृतिले लुकाइराखेको भगवान्को दर्शन गराउन तत्कालीन समयमा भवितव्य भएको हुन सक्ने बताउनुभयो । पाध्याय भन्नहुन्छ, “प्रकृतिले लुकाइराखेका भगवान्को दर्शन गरायो, त्यही हात्तीको मुखाकृति खुलाउनकै लागि खोला उर्लेको जस्तो लाग्छ । जमिनले अठ्याएर राखेको गणेशको रूप बाढीले बाहिर ल्यायो ।”
स्थानीयले २०१२ सालदेखि उक्त ढुङ्गालाई गणेशको रूपमा पूजा गर्दै आएका छन् । प्रकृतिका पूजक नेपालीका लागि प्रकृतिले नै पूजा गर्ने ढुङ्गा दिएपछि आफ्ना पितापुर्खाले मन्दिर बनाएर पूजा गर्न थालेको पाध्याय बताउनुहुन्छ । पहिले खरको छानो राखेर मन्दिर बनाइयो, केही वर्षपछि ढुङ्गे छानो पाएको हात्तीढुङ्गाको मन्दिरले अहिले ढलान छानोमा परिणत भएको उहाँको भनाइ छ ।
परम्परागत रूपमा पूजाआजा र संरक्षणको काम गर्दै आएका स्थानीयले अहिले हात्तीढुङ्गा गणेश मन्दिर सामाजिक संस्थाबाट सञ्चालन गर्दै आएका छन् । संस्थाका अध्यक्ष बलबहादुर पुनमगरले हात्तीढुङ्गाको प्रवर्धन, विकास र प्रचारप्रसारका लागि संस्था स्थापना गरेर काम गर्दै आएको बताउनुभयो ।
अध्यक्ष मगरले भन्नुभयो, “प्रकृतिले ढुङ्गामा गणेशको वाहन हात्तीको आकृति दिनु हाम्रा लागि उपहार हो तर यहाँ राज्यका निकायको ध्यान पुग्न सकेको छैन, प्रचार कम भएकै कारण यो ढुङ्गा ओझेलमा छ ।”
धार्मिक र पर्यटकीय दृष्टिकोणले आकर्षक हुँदाहुँदै पनि हात्तीढुङ्गा ओझेलमा परेको संस्थाका सल्लाहकार डम्मरबहादुर सार्कीले बताउनुभयो । छेउमै बग्ने कालुङखोलाको सुसेली, हात्तीढुङ्गा वरपर भित्तामा झुन्डिएर अडिएका अचम्मका ढुङ्गा र वरिपरिको प्राकृतिक सुन्दरता यहाँको आकर्षण भएको सार्कीको भनाइ छ । धर्ममा विश्वास गर्नेका लागि गणेशको पूजाअर्चना यहाँको मुख्य आकर्षण भएको उहाँले बताउनुभयो ।
हात्तीढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले ३० लाख रुपियाँ खर्चेको छ । पहिलो चरणमा १५ लाख रुपियाँले शौचालय, तारबारलगायतका संरचना बनेको र पछिल्लो चरणको १५ लाख रुपियाँले मन्दिरदेखि लाम्सुगाउँसम्मको पदमार्ग निर्माण गरिएको संस्थाका सचिव कृष्णबहादुर केसीले बताउनुभयो । दानदक्षिणाकै भरमा मन्दिर निर्माण गरेको समितिले झन्डै चार रोपनी जग्गा ऋण काँढेर मन्दिरको नाममा खरिद गरेको छ । जहाँ शिवमन्दिर, सत्तल, पुजारीलाई कुटी र खेल मैदान निर्माण गर्ने योजना समितिसँग छ ।
स्रोतको अभावमा दैनिक पूजा चलाउन कठिन भइरहेको सचिव केसीले बताउनुभयो । केन्द्रीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयले मन्दिर निर्माणका लागि ५० लाख रुपियाँ र मन्दिरसम्मको सडक निर्माणका लागि ५० लाख रुपियाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा मन्दिर, सडकलगायतका काम हुने भएकाले अब प्रचारप्रसार र धार्मिक पर्यटक भिœयाउने काममा समिति लाग्नुपर्ने स्थानीय बताउँछन् । राज्यको लगानी, स्थानीयको समर्पण हुँदाहुँदै पनि प्रचारप्रसार नहुँदा हात्तीढुङ्गामा पर्यटक भिœयाउन नसकिएको वडाअध्यक्ष इन्द्रबहादुर थापाको भनाइ छ ।