• २ वैशाख २०८२, मङ्गलबार

कास्कीको रुपा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

blog

सेवाग्राही जानकारी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गर्दै रुपागाउँपालिका अध्यक्ष नवराज ओझा । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की, वैशाख १ गते ।
कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बिमा गर्दा लाग्ने तीन हजार पाँच सय रुपियाँको पचास प्रतिशत गाउँपालिकाले व्यर्होने भएको छ । बिमाको लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले जानकारी दिनुभयो ।

पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको उहाँको भनाइ । “जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नयाँ वर्षमा नयाँ कामको थालनी गरेका छौँ,” उहाँले भन्नुभयो, “स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पतालसहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको छौँ, यो कार्यक्रमले पनि स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

दुई जना डाक्टरसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना ओझाले सुनाउनुभयो । ओझाका अनुसार अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन नौ वटै स्वास्थ्य संस्थामा गरी ३७ जनालाई करार नियुक्त गरिएको उहाँको भनाइ छ । ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अनेत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा(ओपिडी) सुरु हुन उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै पाँच महिनाको तयारीपछि सेवा आरम्भ भएको जानकारी दिनुभयो । रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङले स्वास्थ्य बिमा कार्यक्रमको लाभ लिन पालिकावासीलाई अनुरोध गर्नुभयो ।

रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिन बाहेक ओपिडी सेवा, निःशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य जनचेतना जगाउन विद्यालय कार्यक्रम अस्पतालले गर्दै आएको जानकारी दिनुभयो । 

रुपा गाउँपालिकाका उपाध्यक्ष एवम् अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष लालसुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुपा गाउँपालिका अध्यक्ष नीलकण्ठ रेग्मी, नेपाली कांगे्रस रुपा गाउँपालिका सभापति विमलबाबु न्यौपाने, रुपाका स्वास्थ्य संयोजक रामचन्द्र ओझा, जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले रुपा गाउँपालिकाको स्वास्थ्य सेवाको बारेमा चर्चा गरेका थिए ।