काठमाडौँ, जेठ १९ गते । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज यहाँ पत्रकार सम्मेलन गरी विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नेपालमा यससम्बन्धी कार्यक्रम गरिँदै आएको जनाएको छ । विसं २०६५ देखि विभागले दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।
सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले यही जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी दिवस मनाउने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वच्छ एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० बढी रोग लाग्ने गरेको छ । प्रत्येक दस जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने गरेका छन् । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एन्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या छ । संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ ।
संविधानबमोजिम सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरेको छ । मानव स्वास्थ्यको रक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र प्रभावकारी नियमनको व्यवस्था गरेको छ । रासस