• २० जेठ २०८२, मङ्गलबार

मनसुन अगावै तयारी गर्न सरकारसँग देउवाको आग्रह

blog

ललितपुर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै पार्टी सभापति शेरबहादुर देउवा। तस्बिरः गोपाल दाहाल/रासस

ललितपुर, जेठ १८ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्नुभयो । 

उहाँले अब नेपाललाई विकास निर्माण नभर्ई दिगो विकास निर्माण चाहिएको उल्लेख गर्नुभयो । स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरुको कर्तव्य भएको बताउनु भयो । 

सभापति देउवाले भन्नुभयो, ‘‘विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ । मनसुन शुरु हुन लाग्यो । यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्दछु । अब हामीलाई चाहिएको विकास निर्माण होइन, दिगो विकास हो । स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो ।’’

झोला र बोतलको सट्टा वैकल्पिक साधन

यसैगरी, सभापति  देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्पिक साधनहरुको प्रयोग गर्न आग्रह गर्नुभएको छ । 

उहाँले पुनः प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको बताउनु भयो । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । 

सभापति देउवाले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्बन उत्सर्जन तिब्र कटौती गर्न पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले संवेदनशील रहेको भन्दै नेपालले यसको प्रभाव भोगिरहेको बताउनु भयो । नेपालले जलवायु न्यायका लागि विश्व समुदायसँग राष्ट्रको स्पष्ट धारणा राख्न आवश्यक रहेको बताउनु भयो ।

सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरु कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरुमा गम्भीर असर पु¥याएको बताउनु भयो । यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गर्नुभयो । 

स्वच्छ विद्युत प्रयोग गर्नु आवश्यक 

सभापति देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत प्रयोग गर्नु अबको आवश्यकता भएको बताउनुभएको छ । 

सभापति देउवाले विद्यालय, विश्वविद्यालयमा जलवायु शिक्षा, बाढी प्रभावित क्षेत्रमा पूर्व सूचना प्रणाली, सुख्खा तराई क्षेत्रमा सिंचाइ र स्वच्छ खानेपानीको व्यवस्था, पहिरो प्रभावित पहाडी क्षेत्रमा भूक्षय रोकथाम कार्यान्वयन, हिमतालहरुको संरक्षणका साथै हिमालको फोहोर व्यवस्थापनमा स्थानीय जनस्तरसम्म पुग्ने अनुकूलका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । 

 सभापति देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै राजनीतिक दलहरुको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ । 

सभापति देउवाले राजनीतिक दलहरुलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिबद्ध रहेको बताउनु भयो । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशील हुन आह्वान गर्नुभयो ।