भक्तपुर, जेठ १८ गते । मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा प्रथम महिला राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्यै नभाग्ने बताउनुभयो । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताउनु भएको हो ।
शाक्यले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौँ, हामी भाग्दैनौँ, कतै जादैनौँ पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ ।”
उहाँले आफूले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घेर्न आउँछु भन्नेहरुका बीचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताउँदै भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरुको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेका छन्, चिनेका छन् ।”
देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न, त्यसबारेमा प्रकाशित पुस्तकहरु पढ्न र मूल्यांकन गरेर मात्रै बोल्न उहाँले आग्रह गर्नुभयो ।
शाक्यले भन्नुभयो, “उहाँले देशमा केही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।” अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उहाँले आह्वान गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभाका पूर्व सदस्य एवं भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापाले आफ्नो परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक प्रथम महिला शाक्यलाई हस्तान्तरण गर्नुभयो भने नम्रता थापाले हालै प्रकाशित शाक्यको पुस्तक करुणाको समीक्षा गर्नुभयो ।
समाज परिवर्तनको संवाहक बन्दै समाजमा सकारात्मक सन्देश फैलाउने मुख्य उद्देश्यले विगत सात वर्षदेखि विभिन्न साहित्यिक यात्रा सञ्चालन गर्दै आएको जेसुमको मध्यपुरथिमिमा भएको यात्राको संस्मरण गर्दै प्रकाशित पुस्तक ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण गरिएको छ ।
संवृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकको मध्यपुरथिमिस्थित कराँते एकेडेमीमा नेपालकी प्रथम महिला राधिका शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदन सुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामालगायत साहित्यकारहरूले संयुक्त रूपमा लोकार्पण गर्नु भएको हो ।
कार्यक्रममा गत जेठ १ गते जेसुमले मध्यपरथिमिको शंखधर चोकस्थित शंखधरको सालिकबाट सुरु गरी बालकुमारी हुँदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाहरूको अवलोकनका क्रममा स्रष्टाहरूबाट सृजना भएका कविताहरू, सम्पदा स्थलमै कोरिएका चित्रहरूलगायतको स्मरणलाई लिपिबद्ध गर्दै प्रकाशित पुस्तक लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जेसुम कवितादेखि विभिन्न स्रष्टाहरू हुँदै मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदन सुन्दर श्रेष्ठसम्मका कविताहरू वाचन भएका थिए । पुस्तकमा जेसुमकी संयोजक अनिता लामा लगायतले कविताहरू वाचन गर्नु भएको थियो ।
पुस्तकमा कलाकारहरु दीपेन्द्रमान वनेपाली, सरिता मण्डल, चन्द्रा श्रेष्ठ, झलक केसी, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, रुबिन बाडे, मंगल प्रजापति, रतिक श्रेष्ठले मध्यपुरमा जेसुम यात्राका क्रममा कोरेका क्यानभासहरु प्रकाशित छन् ।
कार्यक्रममा जेसुमकी संयोजक लामाले जेसुमले देश घुमौँ, देश चिनौँ भन्ने अभियानका साथ देशमा कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक सन्देश प्रवाह गर्दै परिवर्तनको अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले जेसुम सबै श्रष्टाहरुको साझा चौतारी भएकाले साहित्यकारदेखि कलाकारसम्म जेसुममा जोडिएर अभियानलाई अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले मध्यपुरथिमिको सम्पदा यात्राका क्रममा बाहिर देखिएको मध्यपुर र भित्र रहेको मध्यपुरको सुन्दरतालाई नजिकबाट स्पर्श गर्ने अवसर पूर्व नगर प्रमुख श्रेष्ठले जुराइदिएको बताउनुभयो ।
मध्यपुरथिमिका पूर्व नगर प्रमुख श्रेष्ठले जेसुमको मध्यपुर सम्पदा यात्राले यहाँको ऐतिहासिक धरोहरको प्रचारमा अझै उचाइ थपेको बताउँदै मध्यपुरका सम्पदा आफैँमा सुन्दर संग्रहालय भएकाले यसको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले जेसुम यात्रा मध्यपुरका लागि नयाँ अनुभूति भए पनि यसले देशभरका यात्रालाई अवलम्बन गर्दै देशलाई कला, साहित्यको माध्यमबाट चिनाउन सफल हुने चर्चा गर्नुभयो ।