काठमाडौँ, जेठ १९ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकूल परिस्थितिमा अनुशासित बजेट ल्याएको बताउनुभएको छ ।
इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौँमा आयोजना गरेको ‘पोस्ट बजेट होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस पटक आफूले यथार्थपरक बजेट ल्याएको बताउनु भयो । उहाँले कसरी लोकप्रियताको खोजी भन्दा पनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउनु भयो । के गर्दा प्रभावकारी ढङ्गले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोसिस गरेको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘यहाँहरू सबैलाई थाहा छ, एमालेको नेतृत्वको सरकार होस् वा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस्, त्यसले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको छ । यस पटक मैले लोकप्रियताको खोजी भन्दा पनि यथार्थपरक बजेट बनाउने कोसिस गरेको छु । लोकप्रिय हुनुपर्छ, के गर्दा लोकप्रिय भइएला रु कस्तो कार्यक्रम, कस्तो योजना, कस्तो पदावलीको लोकप्रिय भइएला भन्दा पनि के गर्दा प्रभावकारी ढङ्गले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोसिस गरेको छु । एमाले पृष्ठभूमिका अर्थमन्त्रीले बजेट बनाउँदा प्रतिकुल परिस्थितिमा अनुशासित बजेट बनाउन सक्छन् भन्ने कुरामा म होसियार छु ।’
अर्थमन्त्री पौडेलले सृजनाशील युवाहरूका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताउनु भयो ।