काठमाडौँ, जेठ १९ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शिर उँचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।
एएफसी एसियन कप छनोट तेस्रो चरण २०२७ को दोस्रो खेल खेल्न जाने नेपाली टोलीको बिदाईका अवसरमा सम्पूर्ण देशवासीको भरोसाअनुरूप उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनुभएको हो । नेपालले छनोटको दोस्रो खेलमा आगामी जुन १० मा लाओसविरुद्ध खेल्दै छ । सोही खेलको तयारी स्वरूप नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिकामा छ । उक्त खेलका लागि आयोजना भएको बिदाइ कार्यक्रममा मन्त्री चौधरीले नेपाली खेलाडीलाई दिने सेवा सुविधा बढ्दै गएको दाबी पनि गर्नुभयो । यसपल्ट आएको खेलकुद बजेट पनि वृद्धि हुनु सुखद पक्ष रहेको उहाँको भनाइ छ । मन्त्री चौधरीले रङ्गशाला निर्माणमा बजेट पनि छुटाइएको बताउनु भयो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ [एन्फा] कम्प्लेक्समा सोमवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र एन्फाका महासचिव किरण राईले नेपाली फुटबल टोलीलाई बिदाइ गर्नुभयो । सो अवसरमा राईले अहिले फरक ढङ्गले नेपाली फुटबलको विकास भइरहेको दाबी गर्नुभयो । नेपाली खेलाडीको काँधमा गम्भीर जिम्मेवारी पनि रहेको उहाँले औँल्याउनु भयो । राष्ट्रिय टोलीले पनि सकारात्मक नतिजा दिइरहे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै इख राखेर खेल्न एन्फा महासचिव राईले सुझाव दिनुभयो ।
नेपाली राष्ट्रिय टोली मङ्गलवार हङकङ जाने कार्यक्रम छ । मुख्य प्रशिक्षक म्याट रसले यसअघि नै गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन् । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले आगामी बिहीबार हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जेठ २७ गते छनोटमा लाओसको सामना गर्नेछ ।
किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपरहरू दीप कार्की र विशाल सुनार, रोहित चन्द, जिलेस्पीजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ छन् ।