• १ वैशाख २०८२, सोमबार

व्यावसायिक बन्दै विदेशबाट फर्किएका

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर, चैत ३१ गते । कतारमा साढे तीन वर्ष विभिन्न दुःख कष्ट सहेर घर फर्कनुभएकी सूर्योदय नगरपालिका–४ की सपना सुवेदी अहिले गाउँमै व्यावसायिक रूपमा कुखुरापालन गर्न थालेपछि बिदेसिने मोह मनैबाट हटाउनुभएको छ । 

कतारमा अस्पतालको क्यान्टिनमा काम गरेर फकिर्नुभएकी सपनाले अहिले आफ्नो घरमै व्यावसायिक रूपमा स्थानीय कुखुरा पाल्नुभएको छ । सूर्योदय नगरपालिकामा सञ्चालित कार्यक्रममार्फत सुरुमा कुखुरापालन र वित्तीय व्यवस्थापनको तालिम पाएपछि सपनाले व्यावसायिक रूपमै कुखुरापालन गर्दै आउनुभएको छ । सपनाले विदेश बस्दाको सम्झना गर्दै भन्नुभयो, “अर्काको ठाउँमा कतिबेला के हुन्छ थाहै हुन्थेन, भाषा नबुझिनेलगायतका समस्या थिए, अहिले घरमै व्यवसाय गरेपछि ढुक्क भएको छ । जन्मथलोमा बसेर काम गर्दाको आनन्द बेग्लै हुँदो रहेछ ।”

कक्षा १० सम्म अध्ययन गरी घरको गर्जो टार्नका लागि साउदी जानुभएकी सपनालाई विदेशबाट फर्किएपछि गाउँमै केही उद्यम गर्ने इच्छा थियो । नगरपालिकाले आयोजना गरेको कार्यव्रmममार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यव्रmम अन्र्तगत चक्रीय बिउ पुँजीस्वरूप व्यवसाय गर्नका लागि एक लाख रुपियाँ बिनाब्याजमा दिएको थियो । उक्त रकममा आफूले केही रकम थप गरी कुखुराको खोर निर्माण गरी कुखुरापालन गर्नुभयो । अहिले उहाँ कुखुरा, बाख्रापालनबाटै व्यावसायिक बन्नुभएको छ ।  अहिले सपना आप्रवासी हकहित संरक्षण समितिको वडा उपाध्यक्ष बनी काम गरिरहनुभएको छ । सपना आफू त फेरि विदेश जानुभएन, उहाँले अन्य युवालाई समेत गाउँघरमै व्यावसायिक बन्न प्रेरित गर्दै आउनुभएको छ । कुखुरा, बाख्रासँगै चिया खेती गरेर सपनाले अहिले आनन्दले गाउँमै बसेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । 

सपना जस्तै कतारमा १४ वर्ष एसी टेक्निसियनको काम गरेर घर फर्किनुभएका सूर्योदय नगरपालिका–४ का डिल्लीराम मुखियालाई पनि गाउँमै सानोतिनो व्यवसाय गर्ने रहर थियो । विदेश बसेर जति कमाए पनि घर आउँदा पैसा सकिने गरेकाले कारण उहाँलाई फेरी बिदेसिने मन भएन । घर निर्माणको कामसमेत गर्न अब्बल मुखियालाई नगरपालिकाले गत साल सोही कार्यक्रममार्फत कुखुरापालनका लागि ४० हजार रुपियाँ अनुदान दिएपछि आफूले थपेर डेढ लाख लगानीमा खोर निर्माण गरी ६०० चल्ला राख्नुभयो । अहिले उहाँले धेरै छिमल कुखुरा बिक्री गरिसक्नुभएको छ । 

सूर्योदय नगरपालिका–४ कै विराज तामाङ साउदीमा एसी टेक्निसियनको काम गरेर २८ महिना बस्नुभयो । साउदीको दुःखले उहाँलाई गाउँ फर्कायो । गाउँमै केही गरुँ भन्ने इच्छा बोकेका विराजलाई पनि सोही कार्यक्रमले साथ दियो । उहाँले एक लाख रुपियाँ चक्रीय अनुदान पाएपछि कुखुरा पाल्न थाल्नुभयो । सुरुमा ४०० कुखुरा खोरमा हाल्नुभएका विराज अहिले त्यही व्यवसायबाट राम्रो आम्दानी लिन सफल हुनुभएको छ । गाउँघरमै थोरै बेच्दा कुखुरा प्रतिकिलोग्राम ७०० र मुस्ट बेच्दा ६०० रुपियाँ प्रतिकिलोग्राम बिक्ने गरेको उहाँले बताउनुभयो । विराज भन्नुहुन्छ, “अन्तुमा खुलेका त्यति धेरै कटेज, होटेल र होमस्टे छन्, बेच्नका लागि बजारको कुनै समस्या छैन । 

उहाँहरू जस्तै अन्तुकै इन्द्रजित मुखिया, राजेन्द्र गिरीले पनि सो  कार्यक्रममार्फत अनुदान पाएर कुखुरापालन गर्नुभएको छ । उहाँहरूले व्यावसायिक रूपमा स्थानीय कुखुरा पालेर राम्रै आम्दानी लिन सफल हुनुभएको छ । 

सूर्योदय नगरपालिकाको श्रम तथा रोजगार प्रवर्धन शाखा अन्तर्गतको सो कार्यक्रममा सूर्योदय ४ र १४ मा अघिल्लो आर्थिक वर्षबाट कार्यव्रmम सञ्चालन गरिएको थियो । अहिले वडा नं. ९ र १३ लाई पनि समेटिएको छ । नगरपालिकाबाट हालसम्म विदेशबाट फर्किएकालाई व्यवसाय गर्न नगरपालिकाले लगानी गरेको कार्यक्रमका नगर संयोजक ईश्वरी तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा व्यवसाय गर्नका लागि पहिचान गरी लगानी गर्‍यौँ, अब बजारीकरणका लागि सहयोग गर्ने योजना छ ।” 

बिनाब्याजमा अनुदान दिएपछि विदेशबाट फर्किएकालाई व्यवसाय गर्न सहज भएको छ । गत वर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरिएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उक्त कार्यविधि अनुसार व्यक्तिगत रूपमा एक लाख र समूह, सहकारीमार्फत व्यवसाय गर्नेलाई पाँचदेखि १० लाख रुपियाँसम्म बिनाब्याज रकम दिइने गरिएको छ ।