• १ वैशाख २०८२, सोमबार

सिरुवा पर्वको पूर्वतयारी

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, चैत ३१ गते । झापा र मोरङका तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, ताजपुरिया र गनगाईको सबैभन्दा ठुलो सिरुवा पावनी पर्व नजिकिएको छ । 

यो पर्व सिरुवा पावनी (पर्व) राजवंशी, ताजपुरिया जातिको सबैभन्दा ठुलो पर्व मानिन्छ । नयाँ वर्ष वैशाख १ गते मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्सी महाराजथानमा पूजा गरेपछि यो पर्व सुरु हुने गर्छ । पर्व १५ दिनसम्म लगातार मनाइन्छ । भूमि पूजामा विश्वास गर्ने यो जाति वर्षभरि अन्न राम्रो फलोस्, बाढी, रोग, पशुचौपायाले दुःख नदेओस् भन्ने कामना गर्दै सुनबर्सी महाराजको पूजा गर्ने गर्छन् । धान, तोरी, तेहलन, दलहन र गहुँ बाली भित्राएपछि उनीहरू वैशाख १ देखि १५ गतेसम्म विभिन्न भेटघाट, भोज खाने, खुवाउने गरेर सिरुवा मनाउने गर्छन् । राजवंशी भाषामा सुनबर्सी भनेको सुनको वर्षा भन्ने बुझिन्छ । पछि पहाडे समुदायको बसोबास बढ्दै गएपछि यो थानको नाम नै अपभ्रंश भएर सुनबर्सीथान भएको स्थानीय राजवंशी समुदायका अगुवा बताउँछन् । 

सुनबर्सी महाराज देवस्थल संरक्षण समितिका सचिव शिवदियाल राजवंशीका अनुसार महाराजथानको बिचमा महाभारतकालमा पाण्डवले खनेको विश्वास गरिएको ठुलो पोखरी छ । त्यो पोखरी वरिपरि मानवबस्ती र खेतीपाती छ तर सदिऔँ भयो, त्यो पोखरी आजको मितिसम्म सुकेको छैन । दुई बिघा क्षेत्रमा फैलिएको पोखरीको पश्चिमउत्तरमा मन्दिर छ । आदिकालमा सुनबर्सी महाराजले विपन्न, दुःखी र भोकानाङ्गालाई सहयोग गर्नुहुन्थ्यो । राजवंशीले आफ्ना बाजेहरूले सुनाएको किंवदन्ती उल्लेख गर्दै भन्नुभयो, “गरिबले बिहेमा लगाउने गहना नहुँदा महाराजसँग पुकार गर्थे । आँखा चिम्लेर ध्यान गर्दै बसेका भक्तलाई महाराज खुसी भएपछि सुनका गहना बर्साइदिनुहुन्थ्यो । ती गहना प्रयोग गरिसकेपछि महाराजको मन्दिरमा नै चढाउनु पथ्र्यो । जसले लोभलालच गरेर घरमा राख्थे, उनीहरूको परिवारमा महाअनिष्ट हुन्थ्यो ।” त्यहाँ नजिकैको किच्चक बस्ती गहना प्रयोग गरेर नबुझाएकै कारण मासिएको स्थानीयले अझै पनि सुनाउँछन् । 

पछिल्लो समय यो थानमा राजवंशी, ताजपुरिया, धिमाल, गनगाई र सन्थाल समुदायका मानिस मात्र होइन, पहाडे समुदायले पनि नयाँ अन्न चढाएर मात्र खाने परम्परा सुरु भएको छ । पूर्वी नेपालको मोरङ, झापा, सुनसरी मात्र नभएर भारतका विहार र पश्चिम बङ्गालका भक्तजनसमेत अचेल फूलघोडा चढाउन र परेवा उडाउन महाराजथान पुग्ने गरेका छन् । सुनबर्सी महाराज देवस्थल संरक्षण समितिका अध्यक्ष एवं सुनबर्सी नगरपालिका–३ का वडाध्यक्ष अतनकुमार बुढाथोकीले भन्नुभयो, “भाकल पूरा भएपछि ती सबै भक्तले यहाँ आएर फूल, घोडा चढाउने र परेवा उडाउने गर्नुहुन्छ ।”

पछिल्लो समय पहाडे समुदायमा पनि सुनबर्सी महाराजप्रति आस्था बढ्दै गएको छ । मोरङको रतुवामाई–९ का ३० वर्षीय विक्रम पौडेलले भन्नुभयो, “नयाँ योजनाको भाकलका लागि महाराजथानको पूजा गर्न जाने तयारीमा छु ।” धेरै साथीभाइको भाकल पूरा भएको सुनेपछि पौडेल यो पटक भाकल गर्न जाने तयारीमा हुनुहुन्छ । 

दक्षिण तराईमा गाडी, घोडा र यातायातको पहुँच नभएका बेला भारतीय व्यापारी यिनै मेलामा ल्याएर मटितेल, नुन, कपडा र मिठाई बिक्री गर्ने गर्थे । किसानले मेलाकै बेला खेतीपातीका लागि आवश्यक पूर्वाधार जोड्थे । एकातिर पूजाआजा र रमाइलो गर्ने अर्कातिर व्यापारसँग जोडिएका यी मेला पछिल्लो समय जुवाजन्य खेल र मदिरा सेवनका कारण ओझेलमा पर्दै गएका छन् ।