• २ वैशाख २०८२, मङ्गलबार

पर्यटक घटे, कृष्णसार बढे

blog

बबई समाचारदाता 

बबई (बर्दिया), चैत ३१ गते  । कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा गर्दै सरकारी स्वामित्वमा कृष्णसारको संरक्षण गर्न सुरु गरेको थियो । त्यसको १० वर्षपछि २०७५ सालमा कृष्णसार अवलोकन गरेबापत नेपालीले एक सय, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशी नागरिकलाई तीन हजार शुल्क निर्धारण गरेपछि कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकसमेत आउन छाडेका छन् ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ६३४ जना नेपाली, सार्क मुलुकका आठ र ३७ जना विदेशी गरी जम्मा पाँच हजार ६७९ जनाले कृष्णसारको अवलोकन गरेका थिए । आव २०८०/८१ पर्यटकको सङ्ख्या झन् घटेको देखिन्छ । कार्यालय अनुसार उक्त आवमा चार हजार ४१५ नेपाली, सार्क मुलुकका ११ जना र अन्य विदेशी गरी कुल चार हजार ४८१ जनाले कृष्णसारको अवलोकन गरेका थिए । 

चालु आवको फागुनसम्म दुई हजार २३५ जना नेपाली, आठ जना सार्क मुलुकका र अन्य विदेशी ४३ जना गरी जम्मा दुई हजार २८६ जनाले मात्र कृष्णसार क्षेत्रको अवलोकन गरेको कार्यालयका सूचना अधिकारी रामु केसीले बताउनुभयो ।

शुल्क तिर्नुपर्ने भएपछि पर्यटक घट्दै गएको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका पूर्वअध्यक्ष मुलचन्द यादवले बताउनुभयो । २०७५ सालपछि शुल्क तोकेका कारण अहिले अवलोकन क्षेत्र नै सुनसान रहेको वडा नं. २ का वडाध्यक्ष टङ्कप्रसाद अधिकारीले बताउनुभयो ।

पर्यटक घट्दै गए पनि कृष्णसारको सङ्ख्या भने बढ्दै गएको देखिन्छ । आव २०७९/८० मा १९७ वटा, आव २०८०/८१ मा २१४ वटा, चालु आवको फागुनसम्म २४३ वटा कृष्णसार रहेको कार्यालयले जनाएको छ ।