• ४ साउन २०८१, शुक्रबार

गोरखापत्रकर्मी सम्मानित

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, जेठ २३ गते । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याएबापत गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मान गरेको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा हरेक वर्ष पत्रकार र चलचित्रकर्मीलाई सम्मान गर्दै आएको चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाले आइतबार हेटौँडामा गोरखापत्रकर्मी दाहालसहित सात जनालाई सम्मान गरेको हो । 

कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले २०७७ सालको चलचित्र पत्रकारिता पुरस्कार दाहाललाई, राष्ट्रिय चलचित्र पुरस्कार विदुर गिरीलाई र चलचित्र कलाकर्मी सम्मान प्रेम भोम्जन (पुष्कर लामा)लाई प्रदान गर्नुभएको थियो । यस्तै २०७८ को चलचित्र पत्रकारिता पुरस्कार दीपक अधिकारीलाई र चलचित्र कलाकर्मी सम्मान अभिनेता राज कटुवाललाई तथा २०७९ को चलचित्र पत्रकारिता पुरस्कार दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीलाई प्रदान गरिएको थियो ।

सङ्घका कार्यवाहक अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले चलचित्रको माध्यमबाट कला र संस्कृतिसँगै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउँदै प्रदेशका पर्यटकीय क्षेत्रमा सिनेमा ‘सुटिङ’ गर्ने निर्मातालाई सहयोग गर्ने नीति प्रदेश सरकारले बनाएको बताउनुभयो । 

कार्यक्रममा सम्मानित भएकाहरूसँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, महासङ्घका प्रदेश महासचिव कृष्ण सारू, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम, ब्रोडकास्टिङ एसोसिएसनका उपाध्यक्ष उज्ज्वल चौलागाईं, कलाकार सुशान्त श्रेष्ठलगायतले बोल्नुभएको थियो ।बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मान गर्नुहुँदै ।