• ३१ चैत २०८१, आइतबार

गुल्मीमा पुग्यो पाठ्यपुस्तक

blog

तम्घासस्थित अस्मिता पुस्तक पसलमा ल्याइएका पाठ्यपुस्तक। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, चैत ३० गते। गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका लागि पाठ्यपुस्तक पर्याप्त मात्रामा पुगेको छ। गतवर्ष जस्तै यस वर्ष जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीसँग पाठ्यपुस्तक सेटमा पर्याप्त उपलब्ध रहेको हो। शैक्षिकसत्रको पूर्वसन्ध्यामा नै यस जिल्लामा हालसम्म ८८ हजारभन्दा बढी पाठ्यपुस्तक सहज रूपमा आइपुगेको छ। 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयको नतिजा प्रकाशन हुनुभन्दा अगाडि नै पुस्तक व्यवसायीलाई उपलब्ध गराएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ गुल्मी शाखाका सचिव गोपाल बस्नेतले बताउनुभयो। पुस्तक व्यवसायीको मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रले पुस्तक पर्याप्त मात्रामा उपलब्ध गराएको छ। 

यस जिल्लामा पुस्तकको अत्यधिक मात्रामा कारोबार गर्ने तम्घासस्थित जनता पुस्तक पसलका व्यवस्थापक समेत रहनुभएका बस्नेतले गतवर्ष जस्तै अहिले पनि पुस्तक पर्याप्त सेटमा उपलब्ध भएको बताउनुभयो। विद्यालयले विद्यार्थीको सङ्ख्याको आधारमा सूची दिने हो भने पुस्तक व्यवसायीले सहज रूपमा नै विद्यालयमा पुस्तक पुर्‍याउन सक्ने उहाँले बताउनुभयो। 

हालसम्म यस जिल्लामा ८८ हजार ४४ थान पुस्तक यहाँका व्यवसायीले ल्याएका छन्। कक्षा एकदेखि चारसम्म विद्यार्थी निजी विद्यालयमा धेरै हुने हुँदा सामुदायिक विद्यालयका विद्यार्थीलाई समेत पुग्ने गरी आफ्नो अनुमानले यहाँका व्यवसायीले करिब छ हजार सेट पुस्तक पसलमा ल्याइसकेका छन्। सामुदायिक विद्यालयको कक्षा पाँचदेखि दससम्मका लागि सात हजार सेट आइसकेको सचिव बस्नेतले बताउनुभयो। 

त्यस्तै, निजी प्रकाशन गृहले प्रकाशन गरेका नेपाली र अङ्ग्रेजी माध्यमका पुस्तक पनि अहिले पर्याप्त रूपमा जिल्लामा आइसकेका छन्। पुस्तक व्यवसायीले मागेको सङ्ख्याको आधारमा पुस्तक आएको सचिव बस्नेतले बताउनुभयो। यहाँ विद्यार्थी, रिडमोर, वेदान्त, एकता, युनाइटेड, आठराई, ओयसिस, मेघा, टेक्सलाइनर, एसिया, सनराइज, स्वस्तिक, स्वर्णिमलगायतका प्रकाशनका पुस्तक विद्यालयले लगाउने गरेका छन्। 

सबै विद्यालयको नतिजा प्रकाशन नभएको हुँदा विद्यार्थी भर्ना सङ्ख्या कति भन्ने थाहा नभएको भन्दै पुस्तक बिक्री धमाधम हुन नसकेको उहाँले बताउनुभयो। जुन विद्यालयबाट पुस्तकको लिस्ट आएको छ, त्यस विद्यालयमा व्यवसायी स्वयंले पुस्तक पुर्‍याएका छन्। जिल्लामा सामुदायिक विद्यालयतर्फ प्राथमिक तह– २८८, निम्न माध्यमिक तह– ५९ र माध्यमिक तह (कक्षा ९–१०)– १२७ छन्। संस्थागत विद्यालयतर्फ प्राथमिक तह– २७, निम्न माध्यमिक तह–८ र माध्यमिक तह (कक्षा ९–१०)– १८ रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ।