रमेश पौडेल
पोखरा, चैत २९ गते । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि नवौँ डान प्राप्त गर्न सफल ग्रान्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेश तेक्वान्दो सङ्घले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उहाँलाई खादा, दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो ।
सम्मानित भएपछि गुरुङले आफ्नो लक्ष्यमा पुग्न प्रतिबद्धता र आत्मविश्वास महत्त्वपूर्ण हुने बताउनुभयो । यहाँसम्म आइपुग्दा परिवारका सदस्य एवं आफन्तको पनि सदा सहयोग रहेको उहाँले स्मरण गर्नुभयो ।
पोखरा–१० निवासी गुरुङले गत डिसेम्बरमा तेक्वान्दोमा सबैभन्दा माथिल्लो र सर्वोच्च उपाधि प्राप्त गर्नुभएको थियो । त्यसका लागि उहाँले कोरिया सियोलको विश्व तेक्वान्दो महासङ्घमा प्रयोगात्मक र लिखित परीक्षा उत्तीर्ण गर्नुभएको हो ।
नेपाली खेलाडीले हालसम्म आठ डानभन्दा माथिल्लो उपाधि प्राप्त गर्न नसकिरहेको अवस्थामा पोखरेली खेलाडी गुरुङले प्राप्त गरेको यो उपाधिले समग्र खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ । ६६ वर्षीय गुरुङ सुरुमा पौडी खेलपछि तेक्वान्दोमा लाग्नुभएको हो ।
गुरुङलाई नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, सङ्घ गण्डकी अध्यक्ष जगन गुरुङलगायतले सम्मान गर्नुभयो ।