ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २९ गते । बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी ३३ विद्यालय मध्ये दुई वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ भने ११ वटा विद्यालयको नतिजा कमजोर देखिएको छ ।
नगरपालिकाले हालै मात्र प्रकाशित गरेको कक्षा ८ को नतिजामा बेनी नगरपालिका वडा नम्बर १ स्थित भानु माध्यमिक विद्यालय रत्नेचौर र वडा नम्बर ३ भकिम्लीको बालप्रिय शारादा आधारभूत विद्यालयको नतिजा शून्य भएको छ । भानु माविबाट ११ र बालप्रियबाट सात जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । नगरपालिकाले प्रश्नपत्र तयार पार्नुका साथै नगरपालिकामै उत्तरपुस्तीका परीक्षण गरिएको नगरका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो ।
शिक्षा शाखाले दिएको जानकारी अनुसार परीक्षामा एक संस्थागत र १० वटा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर देखिएको छ । ति विद्यालयहरुले पचास प्रतिशत विद्यार्थी पनि कक्षा ८ को परीक्षामा उत्तीर्ण गराउन सकेनन् ।
शिक्षा शाखाका अधिकृत ढकालले दिएको जानकारी अनुसार बालमन्दिर आधारभूत विद्यालयबाट १२ जना परीक्षामा सहभागी भएकोमा जम्मा पाँच जना उत्तीर्ण भए । बुद्ध एकेडेमी विद्यालय बगरफाँटबाट ८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा चार जना उत्तीर्ण भए । धौलागिरी मावि सिङ्गामा २३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १० जना मात्र उत्तीर्ण भएको शिक्षा शाखाका अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।
यसैगरी, जडभरत शालग्राम गण्डकी संस्कृति विद्यालयबाट ११ जना परीक्षामा सहभागी भएकोमा जम्मा ६ जना उत्तीर्ण भए । जयन्ती मावि भकिम्लीबाट १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा दुई जना मात्र उतीर्ण भए । मुसुङडोले आधारभूत विद्यालयबाट १० जना सहभागी भएकोमा चार जना विद्यार्थी उत्तीर्ण भए ।
पौलत्स्य माविबाट नौ जना विद्यार्थी सहभागी भएकोमा दुई जना उत्तीर्ण भए । रामचन्द्र माविबाट ११ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा तीन जना मात्र उत्तीर्ण भए । यसैगरी, २९ जना परीक्षामा सहभागी भएको सरस्वती मावि सिंगाबाट आठ जना मात्र उत्तीर्ण भए भने उज्यालो वैकल्पिक विद्यालयबाट सात जना परीक्षामा सहभागी भएकोमा एक जना मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत ढकालले जानकारी दिनुभयो ।
गत वर्षभन्दा यसपटक परीक्षा नतिजा सुधार भए पनि सन्तोषजनक नभएको उहाँले बताउनुभयो । गत वर्ष हामीले पाँच विषयमा पाँच÷पाँच अङ्क ग्रेसमार्क दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए उहाँले भन्नुभयो, ‘‘यसपटक हामीले ग्रेस मार्क नदिँदा ७२.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा सुधार भएको मान्न सकिन्छ । तर केही विद्यालयको नतिजा अत्यन्तै कमजोर देखिएको छ । यसले गर्दा हामीलाई गम्भीर बनाएको छ । शैक्षिक गुणस्तर सुधार गर्न जनप्रतिनिधि, सरोकारवाला पक्ष र नगरको शिक्षा शाखाले आगामी दिनमा ध्यान दिनुपर्ने देखिएको छ ।’’
परीक्षामा सहभागी आठ सय ८४ विद्यार्थी मध्य ६ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार विद्यालयले संचालन गर्ने ग्रेड वृद्धिको परीक्षामा एकसय ७३ जना विद्यार्थी सहभागी हुँदै छन् ।
नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव क्षेत्रबहादुर भण्डारीले विद्यालयको नतिजा सुधार गर्नका लागि शिक्षक,अभिभावक,जनप्रतिनिधि र सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले शैक्षिक सुधारको कार्ययोजना बनाएर अघि बढ्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख भण्डारीले बताउनुभयो ।