वसन्त पराजुली
नारायणगढ, चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष चितवनका राजनीतिक अगुवाहरूले आवश्यक २३ वटा योजना बुझाएका छन् । तत्काल गर्नुपर्ने १५ र दीर्घकालीनमा गर्नुपर्ने आठ गरी २३ वटा योजना प्रधानमन्त्री ओलीलाई सत्ता साझेदार काँग्रेस र एमालेबाट गएका प्रतिनिधि मण्डलले बिहीबार साँझ भेटी चितवनको विकास योजना प्रस्तुत गर्दै आर्थिक विर्ष २०८२-०८३ को योजनामा पार्न माग समेत गरेका छन् ।
यो भेटमा प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “हामीले प्रधान मन्त्रीलाई चितवनको विकासकालागि दीर्घकालीन र अल्पकालीन योजना प्रस्तुत गरेका छौँ उहाँले सरकारको योजनामा पारेर चितवनको विकास गराउने विश्वास दिलाउनु भएको छ”, प्रतिनिधि मण्डलका प्रतिनिधि मध्येका एक नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भन्नुभयो ।
प्रतिनिधि मण्डलमा सहभागी नेकपा एमालेका अध्यक्ष कमल पाठक प्रधानमन्त्री ओली चितवनका विकासमा चिन्तित रहनु भएको बताउनु भयो ।
“अहिले पनि सङ्घीय सरकारको बजेटमा चितवनमा चार लेन सडक सहित ठुला ठुला योजना कार्यान्वयन छन् । अव पनि दीर्घकालीन असर पार्ने ठुला योजना अघि सार्ने कुरामा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ”, उहाँले भन्नुभयो । प्रतिनिधि मण्डलमा चितवनबाट निर्वाचित दुवै दलका जिल्लाका प्रमुख नेताहरूको सहभागिता थियो ।