• ५ वैशाख २०८२, शुक्रबार

नेपाल र भारत व्यापार सहजीकरणबारे वार्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २९ गते । नेपाल र भारतबिचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनु र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबिच काठमाडौँमा वार्ता सुरु भएको छ । 

वार्तामा दुई देशका भन्सार कार्यालयमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचना अग्रिम रूपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालवाहक कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागु गर्ने, आयातनिर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमानाकामा गुणस्तर तथा क्वारेन्टाइन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्नेलगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी श्री नारायणप्रसाद रेग्मीले बताउनुभयो । 

छलफलमा नेपालले लागु गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाइन्ट) लाई लक्षित समयसीमाभित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागु गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्नेलगायतका विषयमा समेत छलफल हुने जनाइएको छ ।

चैत २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ता टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गर्नुभएको छ । 

नेपालका तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा बाली क्वारेन्टाइन विभागलगायतका निकायका उच्च अधिकारीको सहभागिता रहेको छ । 

यसै गरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय एकाइका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखलगायतका अधिकारीको सहभागिता रहेको छ ।