गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्र सरकारको सारथि भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उहाँले निजी क्षेत्रकै सुझाव अनुसार सरकारले नीति निर्माण तथा परिमार्जन गर्दै आएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकारले नीतिगत सुधारमार्फतदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रले लगानीमार्फत रोजगारी सिर्जना, उत्पादन विस्तार गरेर राष्ट्रिय विकासमा योगदान दिने भन्दै वर्तमान सरकार र निजी क्षेत्रबिचको सहकार्य नमुना खालको रहेको टिप्पणी गर्नुभयो ।
“सरकारले निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधारहरू गरेका छौँ,” उहाँले भन्नुभयो, “देश विकास हामी आफैँ मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिरहेका छौँ ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताउँदै निजी क्षेत्रमा उत्साह जगाउन र उद्यमशीलता प्रवर्धन गर्न पारदर्शिता बढाउने, प्रक्रियागत झन्झट कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढाउने काममा सरकार लागि रहेको जानकारी दिनुभयो ।
देशको ठुलो हिस्सा बचत गर्न नसक्ने र गुजाराको जिन्दगीसमेत जिउन मुस्किल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले आमनगरिकको स्तरोन्नतिमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्न सक्ने औँल्याउनुभयो ।
देशमा पूर्वाधार विकास तथा ठुला परियोजनाका लागि स्रोतको प्रबन्ध गर्न महासङ्घको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) कम्पनी स्थापना राम्रो सराहनीय काम भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रविधिका क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिलाई उत्पादकत्व विस्तारका लागि उच्चतम उपयोगमा ल्याउन उद्यमीहरूलाई आग्रह गर्नुभयो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने बताउनुभयो ।
यसका लागि सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोतसाधनको अधिकतम रूपमा प्रयोग गरी विकासको गति तीव्र बनाउनुपर्ने उहाँको धारणा थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घ सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा निजी क्षेत्र विभिन्न तरिकाले हतोत्साही गर्ने गरिएको भन्दै आफूहरूलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको भन्दै उहाँले नितीगत स्थिरता र सहज वातावरण निर्माण गरेमा अर्थतन्त्र सुधार र समृद्धिको गति निजी क्षेत्रको योगदानले फड्को मर्ने बताउनुभयो ।
पछिल्लो तीन दशक सुशासनको अभाव मुलुकको ठुलो समस्या बन्दै आएको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो । पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक सङ्केत गरेको उल्लेख गर्दै उहाँले चालु आवको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थान विन्दुका रूपमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।