• ३ असार २०८२, मङ्गलबार

अर्थतन्त्र सुधारका प्रयास सकारात्मक : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल महासङ्घको ५९ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, चैत २८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताउनुभएको छ ।

बिहीबार महासङ्घको ५९ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताउनुभयो । उहाँले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने जिकिर गर्नुभयो । उहाँले रोजगारी प्रदान गर्न सरकारको सिमितता रहेको भन्दै अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गर्नुभयो ।

निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भए पनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको जिकिर गर्नुभयो ।

‘‘रोजगारी प्रदान गर्न सरकारको सिमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । त्यस कारण युवाहरू जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन् ।,’’ अध्यक्ष ढकालले भन्नुभयो, ‘‘नेपालीलाई काम दिने यी अर्थतन्त्रहरू र नेपालको अवस्था केही समय पहिले उस्तै थियो । सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर । यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।’’

अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारको मुख्य एजेन्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्नुहुँदै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको जिकिर गर्नुभयो । उहाँले त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी जरुरी हुने उल्लेख गर्नुभयो ।

‘‘अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौं । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्छ । अब म बुँदागत रूपमा यहाँहरूलाई हामीले के गर्नसक्छौँ ? त्यो कसरी सम्भव छ ? र सरकार लगायतका सरोकारवालाहरूको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु । वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो ।,’’ अध्यक्ष ढकालले भन्नुभयो, ‘‘त्यसका लागि पैसा, वुद्धि, बिवेक र सीपको लगानी गर्नुपर्‍याे । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ । पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन्, एउटा सरकार र दोस्रो निजी क्षेत्र ।’’

अध्यक्ष ढकालले अहिले अवस्था असहज छ तर सुधार असम्भव नरहेको बताउनुभयो । अर्थतन्त्र, विकास र सम्मृद्धिमा राजनितिक दलहरूको साझा धारणा बनाउन सक्नुपर्ने उहाँको भनाइ छ । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने बताउनुभयो । अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताउनुभयो ।