कविराज घिमिरे
हिले, चैत २८ गते । चैत ३१ गतेबाट धनकुटामा तेस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसर पारी उत्सव गर्न लागिएको हो ।
आयोजक कोप्चे पुनर्जागरण अभियानले पत्रकार सम्मेलन गरी चैत ३१ देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवर्धनका लागि उत्सव गर्न लागिएको आयोजक संस्थाका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो ।
उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा सङ्गीत प्रस्तुत गर्नुका साथै नेपालका मौलिक बाघचाल खेल, दुना टपरी बन्ने प्रतियोगिता घुम्ने कुर्सी आदि मनोरञ्जनात्मक खेलहरू खेलाइने जनाइएको छ ।
त्यस्तै फोटो पत्रकार महासङ्घ सँगको सहकार्यमा धनकुटाका पुराना तस्बिरहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । तीन दशक अघिसम्म धनकुटा मुख्य बजारको रूपमा रहेको कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि पुरानै चहलपहल फर्काउन भन्दै पुनर्जागरण अभियानले नयाँ वर्षको अवसरमा कोप्चे उत्सव गर्दै आएको छ ।