रेखीराम राना
तानसेन, चैत २८ गते । हावाहुरीसँगै आएको वर्षाले पाल्पाका विभिन्न स्थानमा क्षति पुर्याएकाे छ । चैत २२ गतेदेखि जिल्ला सदरमुकाम तानसेनमा सञ्चालित दोस्रो तानसेन महोत्सव स्थगित भएको छ।
गएराति परेको हावाहुरी र वर्षातले महोत्सव स्थलका क्षति पुर्याएपछि केही दिनका लागि महोत्सवका कार्यक्रम सञ्चालन नगर्ने पाल्पा व्यापार सङ्घका महासचिव तुलबहादुर अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले महोत्सव स्थलमा राखिएका खाद्य, लत्ताकपडा, भाँडाकुडा तथा अन्य सामग्रीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । यस्तै मन्च, बार तथा स्टललाई हावाहुरीले पूर्ण रूपमा उडाएको छ ।
हावाहुरीले व्यक्तिका घर तथा सार्वजनिक सम्पत्तिमा पनि क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको पूर्वखोला, रैनादेवी छहरा, रिव्दीकोट, तिनाउ, निस्दी, बगनासकाली र तानसेनका विभिन्न स्थानमा हावाहुरीले छाना उडाएको छ ।
घरको छाना उडाएपछि घरमा बस्ने अवस्था नरहेको पीडितले बताएका छन् । जिल्लाभर हावाहुरी र वर्षात्ले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।