नवीनराज कुइँकेल
लमजुङ, चैत २८ गते । मर्स्याङदी र मिदिम खोलाको शिर । डाँडाको थाप्लोमा झुरुप्प बसेको बस्ती । ढुङ्गा र माटोले बनेका घर । टिनले छाइएका रङ्गिन छाना । पृष्ठभूमिमा झलमल्ल हिमाल । स्वर्गकै एउटा टुक्रा जस्तो ! मुलुककै पहिलो स्मार्ट भिलेज– घलेगाउँ ।
२५ वर्षअघि घलेगाउँको दृश्य यस्तो थिएन । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही थिएन । कसैका घरमा चर्पी पनि थिएनन् । पातीघारीमा खुला रूपमा नै दिसापिसाब गर्ने घलेगाउँवासी सबैका घरमा अचेल शौचालय छ । बरु पातीघारीको पाती पर्यटकका शिरमा लगाएर पैसा कमाउने भएका छन् उनीहरू ।
२५ वर्षको पर्यटन यात्राले घलेगाउँको स्वरूप मात्र फेरिएन, गाउँलेको जीवनस्तर नै फेरियो । मिठोमसिनो खान, दुई/चार पैसा खेलाउन नपाएका गाउँले अहिले लखपति बनेका छन् । प्रतिव्यक्ति आय बढेको छ । वर्षमा छ/सात लाख घरमै बसेर कमाउन थालेका छन् ।
समुद्री सतहदेखि दुई हजार १७० मिटर उचाइमा रहेको क्व्होलासोंथार गाउँपालिका–३ मा अवस्थित घलेगाउँमा १३० घर छन् । अमेरिका, बेलायत गएकासमेत घलेगाउँ आएर घरवास (होमस्टे) चलाउन थालेका छन् । विक समुदायले सञ्चालन गरेका दुई वटासहित अहिले ४२ घरमा होमस्टे छ । घलेगाउँमा यो अवधिमा करिब तीन लाख पर्यटकले बास बसेका छन् । पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको उन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् । घलेगाउँका बासिन्दाको आम्दानीका स्रोत थपिँदै छन् ।
गाउँमै सहकारी खोलिएका छन् । दुई/चार लाख ऋण खोज्न साहुको घर धाउनु पर्दैन । प्रत्येक घरका नागरिकको गाउँले आफैँले बिमा गरेका छन् । सरकारी बिमाको झन्झट बेहोर्नु पर्दैन, बिरामी हुँदा चाहेको अस्पतालमा उपचार गर्छन् । पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेका अनुसार गाउँमा आफ्नै कानुन र आचारसंहिता छ । गाउँकै नियममा गाउँले बाँधिएका छन् । गाउँले सुखी र खुसी छन् ।
यत्तिकै घलेगाउँ यहाँसम्म आइपुगेन । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर तत्कालीन गाविस अध्यक्ष प्रेमबहादुर घलेले छलफल चलाउनुभयो । स्याङ्जाको सिरुबारीमा घरमा पाहुना राखेर पैसा कमाएको सुनेपछि उहाँ सिरुबारी पुग्नुभयो । अनि घलेगाउँमा पनि पाहुना राख्ने योजना बुन्नुभयो । २५ वर्षअघिको कुरा सुनाउँदै घलेले भन्नुभयो, “सहरका पाहुना बोलाएर घरमा बसाउँछु र गाउँलेलाई पैसाको मुख देखाउँछु भन्ने सोच आयो । गर्दै जाँदा गाउँलाई चिनाइयो, गाउँलेलाई सुखी बनाइयो ।”
बिस्तारै गाउँमा पाहुना बोलाउन थालियो । बेँसीसहर, काठमाडौँ, पोखराका सरकारी कर्मचारी घलेगाउँ आउन थाले । खाना र बस्न दिएबापत केही पैसा छोडेर गए । २०५७ वैशाख २३ मा प्रथम महोत्सव भयो । त्यहीबेला घलेगाउँका १२ घरमा होमस्टे स्थापना भयो । गाउँको प्रचारप्रसार गर्न २०५८ वैशाखमा घलेगाउँ कला महोत्सव आयोजना भयो । प्रकृति, संस्कृति र रहनसहन देखाएर, गाउँमै उत्पादित अर्गानिक खाना खुवाएर उनीहरूले आम्दानी गर्न थाले । घलेगाउँबारे देशविदेशमा प्रचार हुँदै गयो । पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०६४ फागुनमा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो ।
यहाँ होमस्टेका कोठा समान किसिमका छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतका आधारभूत सुविधा छन् । मापदण्ड पुगेपछि घलेगाउँलाई २०७६ मङ्सिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पुरस्कृत गर्यो । २०७३ माघ २२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरुङ सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि घलेगाउँ आउने पर्यटक अझ बढ्न थाले । २०७९ वैशाख २ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभयो ।
गोर्खा पार्क, भ्युटावर, स्वर्गभूमि रङ्गशाला, बास्केटबल कोर्ट, उत्तरकन्या मन्दिर, चियाबारीलगायतका फराकिलो ठाउँले पर्यटकलाई आकर्षित गरेको पर्यटन समितिका कार्यालय सचिव दीर्घ घलेले बताउनुभयो । घलेगाउँका वडाध्यक्ष आसवीर गुरुङका अनुसार परम्परागत संस्कृति घाँटु, सोरठी, सेर्गालगायत नाच गाउँका प्रमुख सांस्कृतिक विशेषता हुन् । पाहुनालाई स्वागत गर्न गाइने र नाचिने ‘यालमी’ यस ठाउँकै मौलिकता बोकेको प्राचीन गीत हो ।
घलेगाउँमा सामुदायिक भेडीगोठ छ । सामुदायिक चिया बगान र प्राङ्गारिक खेतीले पर्यटक लोभिन्छन् । लमजुङ हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण, डा. हर्क हिमाल, हिमालचुली, मनासलु, गणेश हिमालको छहारीले घलेगाउँलाई रमणीय तुल्याएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किलोमिटरको यात्रा गर्नु पर्छ । बेँसीसहरबाट डेढ घण्टामा मोटरमा घलेगाउँ पुगिन्छ ।