• ४ वैशाख २०८२, बिहिबार

प्रेमिकाकै सहमतिमा दाइजो र सन्तानका लागि ठगी विवाह

blog

शैलेश देव र ममता चौधरी । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), चैत २७ गते ।
प्रेमिकाकै सहमतिमा दाइजो र सन्तानका लागि ठगी विवाह गर्नेलाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ठगी विवाह गर्ने सप्तरीको राजविराज नगरपालिका वडा नं. २ का ३९ वर्षीय शैलेश देवलाई प्रहरीले पक्राउ गरी सप्तरीले जिल्ला अदालतबाट दुई पटक पाँच–पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रेम एक जनासँग र विवाह अर्कोसँग गरी पत्नी र छोरालाई अधिकारबाट बन्चित गरी हिंसा गर्दै आएको पत्नी प्रिति देवले उनीहरू माथि आरोप लगाउँँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि देव र उनको प्रेमिकालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको हो ।

देवसँगै सुनसरीको इटहरी नगरपालिका–५ मा सञ्चालित ह्यापीलैण्ड चाइल्ड केयरका सञ्चालिका ममता कुमारी चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको सप्तरीका डिएसपी एवम् प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘चौधरीसँग देवको प्रेमपछि २०७१ जेठमा विवाह भई २०७३ मा विराटनगरबाट विवाहदर्ता भएको र प्रितिसँग २०७३ जेठमा विवाह भई २०७६ माघमा देवको राजविराज २ स्थित घर भएको वडाबाट विवाह दर्ता भएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीका अनुसार देवका श्रीमती प्रीति देवले आफ्ना श्रीमान ममता कुमारी चौधरीसँग दोस्रो विवाह गरेको जाहेरी दर्ता गराए पनि कागजी रूपमा चौधरीनै पहिलो पत्नी देखिएको उहाँले बताउँनुभयो । यता जेठिलाई कान्छी र कान्छिलाई जेठी बनाएर विवाह दर्ता गरिदिएको प्रितिको परिवारको आरोप छ ।

चौधरीले प्रेम सम्बन्धबाट आफ्नो विवाह भएको दुई वर्षसम्म सन्तान नभएपछि सहमति मै श्रीमानको प्रितिसँग अर्को विवाह गराएको स्वीकार्नु भएको छ । उहाँले सन्तानको लागि विवाह गराए पनि २०७६ मा प्रितिबाट एक छोरा र २०७८ मा आफुबाट पनि एक छोराको जन्म भएको जानकारी दिनुभयो ।

यता प्रितिको माइती पक्षले ठगेर दाइजो र सन्तानका लागि विवाह गरेर छोरीलाई प्रताडित गर्दै आएको बताउनुभयो । प्रितिको आमा रिता देवले पहिले ज्वाइँको आउजाउ गर्नुहुन्थ्यो । हामीलाई चौधरीसँग विवाह गरेको थाहा थिएन् । चौधरी पट्टी छोरा जन्मेपछि आउजाउ गर्न, छोरी र नातिलाई वास्ता गर्न खर्च दिन छोडेपछि हामीले विवाह गरेको थाहा पाएको उहाँको भनाइ छ । श्रीमान र परिवारले वास्ता नगरेपछि प्रिति माइतीमा बस्न बाध्य हुनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘माइतीमै राख्ने भए छोरीको किन विवाह गर्थे । एउटा पत्नी र छोरालाई इटहरीमा ठुलो घर बनाएर सुखले राख्ने र घरपरिवारको सहमतिमा विवाह गरेको पत्नी र छोरालाई खानसम्म पु¥याउन नसक्ने कहाँको न्याय हो ?’’

ठगी जालसाजी गरेर विवाह गरी छोरी र नातिको जिन्दगी बर्बाद गर्ने ज्वाईलाई हदैसम्म काबारहीका लागि उहाँले माग गर्नुभएको छ ।

प्रितिको विवाहमा ६ लाख ५० हजार नगद, ८ तोला आठ आना सुन, तीन लाख ५० हजारको मोटरसाइकल र सरसामान गरी २० लाख बराबरको दाइजो दिएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यति रकम खर्चेर अर्को ठाउँमा विवाह गरेको भए छोरीको जिन्दगी अहिले स्वर्ग हुन्थ्यो । ठगी र जालसाजी विवाहले जिन्दगी बर्बाद भयो ।’’

मानवअधिकारकर्मी रत्ना तामाङले जालसाजी गरेर दाइजो र सन्तान कै लागि विवाह गरेर पीडितको जिन्दगी बर्बाद गर्नेलाई तत्काल काबारही गर्नुपर्नेमा जोड दिनुभयो ।

बहुविवाह गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले उनीहरुलाई यही चैत १९ गते सुनसरीको इटहरीस्थित चाइल्ड केयर सेन्टरबाट पक्राउ गरेको थियो ।